तुलसीपुरमा निर्माण शुरु भएको आधुनिक बसपार्कको अनुगमन

Posted on: 24 Jul, 2018

साउन ८, दाङ (रासस) | संघीयसभाका सभामुख कृष्णबहादुर महराले तुलसीपुरमा निर्माण शुरु भएको आधुनिक बसपार्कको आज अनुगमन तथा अवलोकन गर्नुभएको छ । तुलसीपुर–५ को पातुखोला छेउमा उपमहानगरपालिकाले गौरवको आयोजनाका रुपमा आधुनिक बसपार्कको निर्माण गरिरहेको छ । 

रु १० करोड लागानीमा निर्माणाधीन बसपार्कको अवस्था र हालसम्म भएको कामका बारेमा सभामुखलाई नगर प्रमुख घनश्याम पाण्डेले जानकारी गराउनुभएको थियो । सो अवसरमा सभामुख महराले बसपार्क निर्माणमा केन्द्रबाट हुनसक्ने सहयोगका लागि आफूले पहल गर्ने बताउनुभयो । 

उहाँले विकासमा केन्द्रको मात्र बजेटको मुख ताक्नुभन्दा पनि निजी क्षेत्र, समुदायको सहकार्यमा स्थानीय स्रोत साधनको प्रयोग भए मात्र सबै क्षेत्रको विकास सम्भव छ भन्नुभयो । 

‘‘विकासका लागि केन्द्रीय पूँजी त आवश्यक पर्छ नै तर सबै त्यसले मात्र हँुदैन, आफ्नो क्षेत्रबाट सबैको सहयोग आवश्यक पर्छ’’, उहाँले भन्नुभयो । 

निर्माणाधीन उक्त बसपार्ककोे निर्माण कार्य पहिलो चरणमा ८० प्रतिशत पूरा भएको इन्जिनियर पवन योगीले जानकारी दिनुभयो ।  


माथिको तश्विरमा: तुलसीपुरमा निर्माण सुरुभएको आधुनिक बसपार्क मंगलबार अनुगमन गर्नुहुँदै संघीयसभाका सभामुख कृष्णबहादुर महरा तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनस्याम पाण्डेलगायतको टोली । तस्वीर: बालाराम खड्का, रासस, दाङ

यस बिषयमा तपाइको प्रतिक्रिया...!