दाङमा व्यक्तिगत लगानीमै भ्यू टावर निर्माण

Posted on: 29 Jul, 2018

साउन १३, दाङ (रासस) | घोराहीस्थित मनबहादुर पुनका परिवारले रु ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गर्नुभएको छ । 

भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ । 

“सानो भए पनि सामाजिक कार्य गर्ने उद्देश्यले भ्यूटावर निर्माण गरेका हाँै,’’ पुनले भन्नुभयो । बुद्ध जयन्तीका अवसरमा शुरुआत गर्ने गरी काम गरिए पनि प्राविधिक समस्याले गर्दा केही ढिला मात्र सम्पन्न भएको उहाँले बताउनुभयो । भ्यू टावरको निर्माण कार्य असार अन्त्यमा सकिए पनि भदौ पहिलो साता उद्घाटन गर्ने गरी तयारी गरिएको छ । उक्त भ्यू टावर बुटवलमा निर्माण गरेर जिल्लामा ल्याइएको थियो । भ्यू टावरवाट जिल्लाको रमणीय स्थलको अवलोलकन गर्न सकिने भएको छ । 

भ्यू टावर निर्माण भएपछि मन्दिरलाई पनि आर्थिक रुपमा सहयोग मिल्ने व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकाले बताउनुभयो । ‘‘भ्यू टावरमा चढेर दाङका पर्यटकीय तथा धार्मिक स्थानहरुको अवलोकन गर्ने सकिनेछ”, अध्यक्ष रोकाले भन्नुभयो । भ्यू टावर निर्माणसँगै नमःछु गुम्बा पर्यटकीय रुपमा विकासमा थप टेवा पुग्ने गम्बा व्यवस्थापन समितिले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!