एक अर्ब राजश्व संकलन

Posted on: 07 Aug, 2018

साउन २२ काठमाडौँ | खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४÷७५ मा रु एक अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गरेको छ । 

विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्रीबापत उक्त राजश्व संकलन गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले आव २०७४÷७५ मा ५६५ कम्पनी तथा संस्थालाई खनिज खोजतलास तथा उत्खनन्का लागि अनुमति र नवीकरण गरेको हो । 

विभागले खानी खोजतलासका लागि १३९ कम्पनीलाई प्रमाणपत्र, २२६ कम्पनीलाई खानी खोजतलास प्रमाणपत्र, १४ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र तथा ९३ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र नवीकरण प्रदान गरेको छ । विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियम आर्थिक अध्ययन तथा प्रवद्र्धन, धातु खनिज अन्वेषण, अधातु खानिज अन्वेषण, खानीको ड्रिलिङ, इन्जिनियरिङ भौगर्भीक अध्ययन, भूकम्प मापनलगायत काम गर्दै आएको छ । 

नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन, फलामखानी मकवानपुरको अन्वेषण कार्य, धादिङमा चुनढुंगा ड्रिलङ कार्य, ५० वटा सञ्चालित खानीको अनुगमन र खनिजमा आधारित १५ उद्योगको प्रवद्र्धन कार्य सम्पन्न भइसकेको प्रवक्ता झाले बताउनुभयो । प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलामखानीको मापन सम्पन्न तथा महादेवस्थान चुनढुंगा च्यानल नमूना छनोट भइसकेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!