कामपाले यी आठ स्थानमा आकाशे पुल निर्माण गर्ने

Posted on: 07 Aug, 2018

साउन २२, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ । 

दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनीयर रामबहादुर थापाले भन्नुभयो, “दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र पैदलयात्रुको सुरक्षा गर्न पुल बनाइनेछ ।” 

टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल (काठमाडौँ जिल्ला अदालत), पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पुल बनाइनेछ । सवारीसाधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्र्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ । 

विज्ञापन राख्न नपाइने 

नयाँ ती पुल बनाउन रु १२ करोड बजेट विनियोजन गरिएको प्रमुख थापाले बताउनुभयो । विज्ञापन राख्न नमिल्ने गरी केही स्थानको आकाशे पुलको डिजाइन तयार भएको र अन्यको तयारी चरणमा छ । महानगरले यसअघि निर्माण गरेको आकाशे पुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो । 

कामपाले केही समयदेखि जथाभावी विज्ञापन, पर्चा पम्पलेट, पोस्टर टाँस्न रोक लगाको छ । गत आवमा कामपाले विज्ञापन करबापत रु १० करोड ९४ लाख ८६ हजार ७९ असुल गरेको थियो । 

नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिने छ । यस्तो पुल पहिलो पटक बन्न लागेको हो । यसअघि परीक्षणका रुपमा पुरानो बसर्पाक अगाडि स्थानान्तरण गर्न मिल्ने पुल बनेको थियो । 

डिजाइन तयार भएका पुल बनाउन बोलपत्र आह्वान यही साउनभित्रै गरी निर्माण शुरु गरिने प्रमुख इञ्जिनियर थापाले बताउनुभयो । अब बन्ने पुल भने कामपाले आफ्नै खर्चमा बनाउन लागेको हो । 

कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालु छन् । रत्नपार्कमा एउटा सव–वे छ । 

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको इञ्जिनीयर बताउनुभयो । वीरअस्पताल अगाडिको पुल अत्यन्त जीर्ण छ । 

कामपाभित्रका यसअघिका पुल निजी क्षेत्रले बनाएकोले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने उहाँले बताउनुभयो । मर्मत गर्न महानगरले समन्वय गर्नेछ । 

कामपाले चालू आव २०७५÷७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । 

कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मत सम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!