टेलिकमको महत्वाकांक्षी योजना : २२ अर्ब खर्च गरेर साढे ४४ अर्ब रुपैयाँ नाफा गर्ने लक्ष्य

Posted on: 12 Aug, 2018

साउन २७, काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको वाषिक प्रगति विवरण र यसवर्षको कार्ययोजना सार्वजनिक गरेको छ ।

नेपाल टेलिकमको सेवामा सुधार गर्न नसकेको र कम्पनीलाई ओरालो लगाएको भन्दै टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले गत शुक्रबार दोस्रो स्पष्टीकरण सोधेको थियो । सो पश्च्यात टेलिकमले आफ्नो वाषिक प्रगतिको विवरण र आगामी वर्षको कार्ययोजना सार्वजनिक गरेको हो ।

यस अघि गत बैशाख २४ गतेको मन्त्रिपरिषद बैठकले कामिनीलाई ११ बुँदे लिखित शर्तहरु पूरा गरेर देखाउन निर्देशन दिएको थियो । सरकारले दिएको लिखित शर्तमा कामिनीलाई ९.७५ अंक प्राप्त गर्ने गरी काम गर्न निर्देशन दिइएको थियो । 

हालसम्म भएका कामहरु 

टेलिकमले आइतबार जारी गरेको विज्ञप्ति अनुसार गत वर्ष कुल ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा टेकिलमको आम्दानी २.१९ प्रतिशतले मात्रै बृद्धि भएको छ।

यो अवधिमा कम्पनीको नाफा करिव १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा १.९२ प्रतिशतले मात्र वृद्धि भएको छ । जसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु १.९६ ले बृद्धि भई प्रतिशेयर आम्दानी रु १०४.४५ पुगेको कम्पनीले जानकारी दिएको छ ।

एकीकृत विलिङ प्रणालीमा ल्याण्डलाइन सेवासमेत रुपान्तरित गर्ने काम गत वर्षमै सकिएको टेलिकमले जनाएको छ ।

त्यसैगरी लामो समयदेखि सञ्चालनमा रहेका ल्याण्डलाइन सेवाका पुराना उपकरणहरु विस्थापन गरी टिडीएम माइग्रेसन आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरण मार्फत सेवा प्रदान गर्न आरम्भ गरिएको कम्पनीले जानकारी दिएको छ ।

हालसम्म करिव एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको जानकारी कम्पनीले दिएको छ । टेलिकमले क्रमिक रुपमा अन्य लाइनहरु पनि रुपान्तरण गर्ने कार्य जारी रहेको बताएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्रमध्ये अति प्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडव्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकोमा तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालनमा ल्याउन सफल कम्पनी बताउँछ ।

गत जेठ मसान्तसम्ममा कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ रहेको छ ।

यसैगरी इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४ सय २९ छ । यसरी ०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ले बृद्धि भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको शुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकोमा गत जेठ महिनामा सो बजार हिस्सा २ प्रतिशतले बृद्धि भई ५१ प्रतिशत पुर्‍याइएको दावी कम्पनीको छ । यद्यपि प्रतिस्पर्धी अनुरुपको नाफा आर्जनमा भने टेकिलम असफल देखिन्छ ।

कम्पनीको इतिहासमा प्रथमपटक कम्पनी ऐनले तोकेको समयभित्र नै कम्पनीको वाषिर्क साधारण सभा सम्पन्न गरी कम्पनीका शेयर होल्डरलाई हालसम्मकै सबैभन्दा बढी लाभांस वितरण गरिएको दावी टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीको सञ्चालक समितिमा कर्मचारीको प्रतिनिधित्व गराउने सम्बन्धी निर्वाचन र कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन लामो समयदेखि रोकिएर रहेकोमा गत आर्थिक वर्षमा दुवै निर्वाचन गराउन सफल भएको विवरण पनि विज्ञप्तिमा समेटिएको छ ।

०७५/७६ का लागि ‘महत्वाकांक्षी योजना’

कम्पनीले चालु आर्थिक वर्ष ०७५/७६ का लागिसमेत विभिन्न महत्वाकांक्षी योजना अघि सारिएको जनाएको  छ । यसमध्ये केही महत्वाकांक्षी योजना आर्थिक वर्षको शुरुवातसँगै कार्यान्वयनमा आउन थालेको टेलिकमले दावी गरेको छ ।

टेलिकमले आगामी वर्ष २२ अर्ब रुपैयाँ खर्च गर्ने गरी विभिन्न योजना तयार पारेको जनाएको छ । २२ अर्ब खर्च गरेर कम्पनीले साढे ४४ अर्ब रुपैयाँ नाफा गर्ने लक्ष्य पनि लिएको छ । आगामी वर्ष खुद नाफा १० प्रतिशतले बढाउने लक्ष्य राखेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष ०७५/७६ मा कम्पनीको सञ्चालन आय ४४ अर्ब २५ करोड पुर्‍याउने र कुल आय १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य निर्धारण गरेको विज्ञप्तिमा बताइएको छ । 

प्रदेश नम्बर १,२ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्नका लागि जम्मा पाँचवटा बोलपत्र आह्वान भइसकेको टेलिकमले जनाएको छ । यस अनुसार पाँचथरको चियो भञ्ज्याङदेखि गोर्खा-धादिङको आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार भइरहेको बताइएको छ । यसका लागि दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गर्ने टेलिकमले जनाएको छ ।

पहाडी जिल्लाका सदरमुकामहरुमा सञ्चालनमा रहेको एडीएसएस आयोजनामार्फत एक हजार किलोमिटर अप्टिकल फाइवर विस्तार कार्य चालु आर्थिक वर्षको प्रथम त्रैमासिक भित्र सम्पन्न गरिने कम्पनीले बताएको छ । यसैगरी काठमाडौं-तराई दु्रत मार्गमा नेपाली सेनासँग सहकार्य गरी भूमिगत रुपमा अप्टिकल नेटवर्क विस्तार कार्य थालनी गरिने कार्यक्रम पनि टेलिकमले बनाएको विज्ञप्तिमा बताइएको छ ।

प्रदेश १,२,३ बाहेकका क्षेत्रहरुमा समेत कम्पनीले उच्च क्षमतायुक्त ट्रान्समिसन उपकरणहरु जडान गरी पूव्र्ााधार बिस्तार गर्ने लक्ष्य पनि रहेको वैद्यले बताएकी छिन् ।जीएसएम मोवाइल सेवामा चालु आर्थिक वर्ष ०७५/७६ मा पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० लाइन र पि्रपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन बितरण गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

मोबाइल सेवाप्रति ग्राहकहरुको बढ्दो रुचीलाई ध्यानमा राखी प्रमुख शहरहरुमा फोरजी सेवा सञ्चालन आइसकेको र मुलुकभर गुणस्तरीय थ्रीजी सेवा उपलब्ध गराउने लक्ष्यसहित यसै वर्षमा थप बीटीएस जडान गरी सेवा विस्तारको कार्यलाई तिब्रता दिइने टेलिकमले बताएको छ।

मुलुकका सातै प्रदेशमा फोरजी/एलटीई सेवा विस्तार गर्न बोलपत्र आह्वान भइसकेको र यसै आर्थिक वर्षभित्र आवश्यक उपकरण जडान तथा नेटवर्क विस्तार गरी सेवा सञ्चालनमा ल्याइने विज्ञप्तिमा उल्लेख छ । यसै वर्षमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय २ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य पनि लिइएको छ ।

चालु आर्थिक वर्षमा पीएसटीएन सेवातर्फ ४२ हजार २ सय ६१ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ । यस अनुरुप मुलुकका ग्रामीण तथा शहरोन्मुख क्षेत्रहरुमा आइपी प्रविधिका उपकरणहरुबाट भ्वाइस, डाटा र अन्य सेवाहरु प्रदान गरिनेछ । यस आर्थिक वर्ष भित्र थप एक लाख लाइन आईपी प्रविधिबाट प्रतिस्थापन गरी पीएसटीएन सेवाको कुल जडित क्षमताको करिव ५० प्रतिशत उपकरणहरु -चार लाख ५० हजार लाइन क्षमता) आइपी बेस्ड प्रणालीबाट सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । त्यसपछि बाँकी ल्यान्डलाइन सेवालाई पनि क्रमिक रुपमा आइपी बेस्ड प्रविधिमा रुपान्तरण गरिने बताइएको छ ।

चालु आवको दोस्रो त्रैमासिकभित्र कम्पनीको ५.२ एम जएसएम आयोजनाअन्तर्गत बाँकी रहेका बीटीएसहरु सञ्चालन गरिनेछ । साथै सबै प्रदेशहरुमा गरी थप १२० बीटीएस साइटहरू सञ्चालन गर्ने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ ।

१० एम जीएसएम आयोजनाअन्तर्गत बाँकी रहेका बीटीएसहरु तथा थप बीटीएस हरु सञ्चालन गर्न ९ एम रुफ टप टावर, २० एम-५० एम ग्राउण्ड बेस टावर खरिद तथा सञ्चालन प्रकृया अगाडि बढाएको कम्पनीको स्पष्टीकरण छ । बीटीएस साइटहरू सञ्चालनका लागि २०-३० एम ग्राउण्ड बेस टावर र रुफ टप टावरहरु विस्तार गरिनेछ ।

दूरसञ्चार क्षेत्रको बजारमा मोबाइल तथा डाटा सेवाको माग बढ्दै गएकाले आगामी दिनमा डाटा सेवाको विस्तारको लागि फोरिजी सेवामार्फत वायरलेस ब्रोडब्यान्ड सेवालाई थप प्रवर्द्धन गरिने बम्पनीको अर्को दावी छ ।

शहरी क्षेत्रका ग्राहकहरुलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य-मुख्य शहरहरुमा तीन लाख क्षमताको एफटीटीएच नेटवर्क विस्तार गरी १ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

‘आर्थिक वर्षभित्र विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधि मार्फत न्युनतम ५ सय १२ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवाको हट स्पट स्थापना गरी मुलुकका ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा वाइफाई सेवा सञ्चालनमा ल्याइने छ,’ विज्ञप्तिमा भनिएको छ ।

गुनासो सम्बोधन गर्ने दाबी

थप एकीकृत मर्मत इकाईहरुको परिचालन गरी मर्मतसम्भार कार्य चुस्त पार्ने दाबी पनि टेलिकमको छ । रोकथाम मर्मत सुधारलाई प्राथमिकता दिई गुणस्तर अभिवृद्धि गरिने विज्ञप्तिमा जनाइएको छ ।

एकद्वार ग्राहक सेवा प्रणालीबाट थप सेवा सुविधाहरु फोन, इमेल, एसएमएस र वेबच्याटमार्फत ग्राहकहरुको गुनासाहरु सम्बोधन गरी ग्राहक सेवामा सुधार गरिन दावी पनि टेलिकमले गरेको छ ।

आर्थिक वर्ष ०७५/७६ मा भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पुर्‍याउने तथा डाटा सेवाको घनत्व पनि बृद्धि गर्दै ४५ प्रतिशत पुर्‍याउने कार्यक्रम रहेको टेलिकमले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!