भेरी–बबई डाइभर्सन आयोजना, ड्याम निर्माणको प्रक्रिया शुरु

Posted on: 18 Aug, 2018

भदौ २, सुर्खेत | भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणका लागि ‘रिक्सजोन’ (खतरा क्षेत्र)पारगरेसंगै अन्य कामको प्रक्रिया अघि बढाइएको छ । सुर्खेतको हात्तीखालबाट शुरु भएको सुरुङ निर्माणको ‘तोली खोला’ लाई जोखिमयुक्त क्षेत्र मानिएको थियो । भेरी र बबईबाट ६/६ किलोमिटरको दुरीमा रहेको तोली खोला पारसंगै विद्युत गृह र ड्यामको निर्माण प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

नेपालमै पहिलो पटक टनेल वोरिङ मेसिन (टिविएम) को प्रयोग गरी सुरुङ खन्ने कार्य भई रहेको छ । गत कात्तिक महिनाबाट टिवीएमको प्रयोगले सुरुङ खन्न थालिए पछि उक्त मेसिनले झण्डै सात किलोमिटर सुरुङ खनेसंगै विद्युतगृह र ड्याम निर्माण प्रक्रिया अघि बढाउन लागिएको बताइएको छ ।

चिप्लेस्थित भेरी नदीमा आयोजनाले विद्युतगृह र भेरीमा हेड निर्माणका लागि पनि ठेक्का प्रक्रिया सुरु गर्न लागेको आयोजनाका डिभिजनहाइड्रोजियोलोजिष्ट हरि खनालले जानकारी दिए । कागजी प्रक्रिया र डिजाइन तयार गरिसकेको भन्दै उनले अबको दुई महिनाभित्रै विद्युतगृह र हेड निर्माणका लागि ठेक्का आव्ह्रान गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।

१२ किलोमिटर लामो सुरुङ खन्न सुरु गरेयता ९ महिनामै शनिबारसम्म ७ किलोमिटर खनिएको छ । तोली खोलादेखि सुरुङसम्मको दुरी (गहिराई) २ सय १० मिटर मात्र छ । त्यहाँबाट पानी बग्ने र लेदो खालको माटो भए आयोजना असफल हुने अनुमान गरिएको थियो ।


टिबिएमले उक्त भाग पार गरेपछि अनुमान गरिएजस्तो जोखिम देखिएन । त्यसपछि सुरुङ निर्माण तीव्र पारिएको आयोजनाका हाइड्रोजियोलोजिष्ट खनालले बताए । ‘जोखिमयुक्त क्षेत्र पार गरेर मेसिन अगाडि गइसकेको छ,’ खनालले भने, ‘अब सुरुङ निर्माणको काम सम्झौता मितिभन्दा अगाडि नै सकिन्छ ।’ तोलीखोला आसपासको क्षेत्र सुरुङको सबैभन्दा जोखिमपूर्ण भुगोल मानिएको थियो ।

त्यही भएर एक किलोमिटर सुरुङ खन्न करिब ३ महिना लागेको खनालले बताए । मानवरहित मेशिनले दैनिक औसतमा ४० मिटर सुरुङ खन्ने गरेको थियो । तर उक्त भागमा भने दैनिक १०÷११ मिटर मात्र मेसिनले सुरुङ खन्दै आएको छ । सन् २०१३ बाटै निर्माण सुरु भइसक्नुपर्ने आयोजना विरोधका कारण ढिलाई शुरु भएको हो ।

दुई वर्षपछि २०१५ जुलाई ४ मा बल्ल निर्माण कम्पनीसँगको सम्झौताले अन्तिम रूप लिएपनि एक वर्षसम्म सुरुङ खन्ने काम शुरु भएन् । चीनको ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड’ (कोभेक) ले आयोजना निर्माण गरिरहेको छ । यो आयोजना २०२० सम्म सक्ने लक्ष्य छ ।

आयोजनाअन्तर्गत बबई नदी नजिकको हात्तीखालदेखि भेरी नदीको चिप्लेसम्म १२ किलोमिटर सुरुङ खनेर भेरीको पानी बबईमा खसालिनेछ । यसबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यही पानीबाट ४८ मेगावाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको कुल लागत १६ अर्ब ४५ करोड रुपैयाँ छ । यसमध्ये सुरुङ निर्माणमा मात्रै १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ ।

आयोजना ढिलाइ हुने संकेत

भेरी बबई डाइभर्सन आयोजना शुरु भएदेखी काम गरिरहेका आयोजना निर्देशक शिवकुमार बस्नेतको सरुवा भएको छ । आयोजनाका हरेक अवरोहलाई व्यवस्थापन गरिरहेका बस्नेतको सरुवा भएपछि समयमै निर्माण सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ । आयोजना निर्देशक बस्नेतसंगै डिभिजनल इन्जिनियर रुक्मागद खनाल र डिभिजनल हाइड्रोजियोलोजिष्ट अजयराज अधिकारीको समेत सरुवा भएको छ । आयोजना स्रोतका अनुसार बस्नेतको ठाउँमा संजिप बराल आउन लागेका छन् । तर अन्य दुइ डिभिजनल इन्जिनियर र डिभिजनल हाइड्रोजियोलोजिष्टमा को आउँदैछन् भन्ने थाहा नभएको आयोजना स्रोतले जनायो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!