दुई नदीमा तटबन्ध निर्माण

Posted on: 20 Aug, 2018

भदौ ४, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा रु १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ । 

नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका लागि सुनबोरा नदीमा रु आठ लाखको लागतमा ४२ मिटर र स्याली नदीमा रु चार लाखको लागतमा २२ मिटर तटबन्ध निर्माण गरेको हो । दुवै नदीमा तटबन्ध निर्माण गरिएपछि ३०० परिवारको जग्गा भूक्षय हुनबाट जोगिएको छ । 

चालू आवमा सनबोरा नदीमा रु १० लाखको लागतमा ३५ मिटर र स्याली नदीमा रु छ लाखको लागतमा ३० मिटर तटबन्ध निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको वडाध्यक्ष ज्ञानबहादुर विष्टले बताउनुभयो । 

बजार विस्तार गर्न व्यावसायिक भवन निर्माण 

यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा वडा कार्यालयले व्यावसायिक भवन निर्माणको कार्य शुरु गरेको छ । बजार विस्तार गर्न र वडा कार्यालयको आम्दानीमा वृद्धि गर्नका लागि व्यावसायिक भवन निर्माणको कार्य शुरु गरिएको हो । 

वडा कार्यालयले रु १२ लाखको बजेटमा भवनको जग राख्ने र पिल्लर उठाउने कार्य पूरा गरेको छ । निर्माणाधीन भवनमा सातवटा व्यावसायिक प्रयोजनका लागि कोठा निर्माण गरिने वडाध्यक्ष ज्ञानबहादुर विष्टले बताउनुभयो । 

“चालू आवमा भवन निर्माणको कार्य पूरा गर्नका लागि रु २० लाख बजेट विनियोजन गरेका छाँै” उहाँले भन्नुभयो । भवन भूकम्प प्रतिरोधी र आधुनिक हुने उहाँले बताउनुभयो । नयाँ भवन निर्माणको कार्य पूरा गर्ने र थप रु ३० लाखमा आठ कोठे भवन बनाउनका लागि बजेट विनियोजन गरी चाँडै कार्य प्रारम्भ गरिने उहाँको भनाइ रहेको छ । 

यसैगरी रु दुई लाख रकम खर्चेर रामेश्वर शिव मन्दिरको पर्खाल निर्माणको कार्यसमेत पूरा गरिएको छ । मन्दिरलाई भजनकीर्तनमा सघाउ पुर्याउन रु ५० हजारको वाद्यबाधन सामग्रीसमेत उपलब्ध गराइएको छ । सिद्धनाथ मन्दिरमा वडाकै रु ५० हजार रकम खर्चेर शौचालय निर्माण गरिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!