पुल बगाउदा जोखिमको यात्रा

Posted on: 25 Aug, 2018

भदौ ९, जाजरकोट | गत  साउन २९ गते परेको अविरल वर्षातका कारण जिल्लाको नलगाड नगरपालिकाका आधा दर्जन अस्थायी तथा पक्की पुलहरू बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य भएका छन् । एक दर्जन बढी गाउँ हुँदै बग्ने झुमरा खोलाको बाढीले उक्त खोलामा रहेका पुलहरू बगेपछि स्थानीय अस्थायी काठको लाप्कोमा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

जिल्लाको पूर्वी भेगमा रहेको नलगाड नगरपालिकाका ५ वटा वडाका दर्जन बढी गाउँ मात्र नभई डोल्पा र जुम्लाबाट जाजरकोट हुँदै सुर्खेत नेपालगन्जको यात्रा गर्ने सर्वसाधारणले खोलामा राखिएका काठका लाप्कोहरूमा ज्यानको बाजी लगाएर यात्रा गर्न बाध्य भएको गुनासो गरेका छन् । चारै तिरबाट खोलाले घेरिएको नलगाडका स्थानीयलाई एक गाउँबाट अर्काे गाउँमा जाँदा ज्यानकै बाजी लगाउनुपर्ने अवस्था आइपरेको नलगाड नगरपालिका ४ लहका स्थानीय हासीलाल पन्तले बताए । उनले पुल बगाएका खोलामा बहाव बढी भएका कारण हालेका काठका लाप्कोहरू पनि बग्ने गरेको बताए । उर्लदो खोलाहरूमा हालिएका काठको लाप्कोमा चढेर स्कुले बालबालिका विद्यालय जाने गरेको र वृद्धवृद्धा र  अपांगहरू  पनि सोहि लाप्कोको सहायताले गाउँमा आवातजावत गर्ने गरेको पन्तले बताए।  पुल नहुँदा  विभिन्न  आधा दर्जन विद्यालयका ४ सय बढी विद्यार्थी जोखिम मोलेर स्कुल जाने गरेको उनको भनाइ छ। बजार, स्कुल, सरकारी कार्यालय, मन्दिर र अन्य अति आवश्यक ठाउँमा जानका लागि खोला तर्नैपर्ने बाध्यता भएका कारण नलगाडका स्थानीयलाई पुल नहुँदा सास्ती भएको छ । 


वर्षातका कारण झुमरा खोला र अन्य खोलामा बाढी आउदा तीन वटा ट्रस व्रिज र चार वटा काठेपुल बगेका कारण नलगाडका एक दर्जन बढी  गाउँका २० हजार बढी स्थानीयलाई आवातजावतमा समस्या परेको छ। सबैभन्दा बढी स्थानीयबासी, व्यापारी, कर्मचारी, मजदुर र बाहिर जिल्लाका यात्रुहरूले प्रयोग गर्ने नलगाड नगरपालिका ५ कालीमाटीस्थित खोलाको बहाव झन झन बढ्न थालेको र त्यहाँ राखिएका काठका लाप्कोहरूपनि बग्ने खतरा देखिएको स्थानीय बताउछन् ।

उता नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले अहिले अस्थायी रुपमा केही खोलामा काठको लाप्को हालेर काम चलाइएको र झोलुङगे पुल तथा अन्य पक्की पुल निर्माणका लागि नगरपालिकामा वजेट नभएका कारण केन्द्र सरकारसँग आवश्यक वजेट माग गरिएको बताए । उनले  खराब भुगोल भएका कारण एउटा पुल  बनाउन ३५ लाखसम्म लाग्ने भएकोले प्रदेश सरकार र केन्द्र सरकारले सक्रियता नदेखाएसम्म नलगाडका जनताले सुरक्षित रुपमा यात्रा गर्न नपाउने बताए । स्थानीय सरकार भनेपनि वजेट केन्द्र र प्रदेशमै खिचिने गरेका कारण स्थानीय पूर्वाधार निर्माणमा आफूहरूको क्षमता नभएको मेयर रावलले बताए । उनले नलगाडमा भत्किएका पुल र पीडित जनताको लागि विभिन्न निकायसँग सहयोग मागिरहेको बताए । झुमरा खोलामा आएको बाढीले स्थानीयका धान खेत, घर, घट्ट, घुम्ती र अन्य पशु चौपाया बगाउदा करोडौंको क्षति भएको रावलले बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!