मङ्गला गाउँपालिका–३ खानीगाउँको घरघरमा खानेपानी

Posted on: 09 Oct, 2018

असोज २३, बेनी (रासस) | म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँको घरघरमा खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’अन्तर्गत घरघरमा खानेपानी उपलब्ध भएपछि स्थानीयवासी हर्षित भएका छन् । 

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत बफुवाखोला खानेपानी तथा सरसफाइ आयोजनाले ५८ घरमा खानेपानी उपलब्ध गराएको हो । उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालका अनुसार कूल रु ६७ लाख ६७ हजारको लागतमा सो आयोजना निर्माण सम्पन्न गरिएको हो । स्थानीयवासीले ६ महीनासम्म रु १८ लाख ९४ हजार बराबरको श्रमदानसमेत गरेका थिए । 

आयोजना निर्माण गर्न नेपाल सरकार र फिनल्याण्ड सरकारले रु २० लाख ९७ हजार लगानी गरेका थिए । मङ्गला गाउँपालिकाले रु ६ लाख ७६ हजार सहयोग गरेको थियो । मुहानदेखि घरघरमा धारा विस्तार गर्दा करीब १४ किलोमिटर पाइपलाइन स्थानीयवासी खनेका थिए । आयोजना निर्माण भएपछि अहिले १३ मुख्य तथा सहायक ट्याङ्कीमार्फत घरघरमा खानेपानीको सुविधा पुर्याइएको छ । विगतमा खानेपानीका लागि कुवामा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो । “पहिले एक गाग्री पानी ल्याउन घण्टौँ समय खेर फाल्नुपथ्र्यो,” स्थानीयवासी आरतीकुमारी शेरचनले भन्नुभयो । 

यसैबीच बरङ्जाको दुर्दीमा समेत भित्रीवन खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । वास परियोजनामार्फत रु ७० लाख तीन हजारको लागतमा निर्माण भएको सो आयोजनाबाट मङ्गला गाउँपालिका–४ दुर्दीका ६८ परिवार लाभान्वित भएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!