खानीडाँडा, आहाले हुंदै पञ्चमीबजार पुग्यो गाडी, दक्षिणी भेग र दिक्तेल नजिक बन्दै

Posted on: 26 Oct, 2018

चिसाङ शेर्पा | कात्तिक ९, खोटाङ | दिक्तेलबाट दक्षिणी क्षेत्र पञ्चमीबजारमा गाडी पुगेको छ । दिक्तेलबाट खानीडाँडा, आहाले–याम्खा हुंदै सप्तेश्वर छितापोखरीको पञ्चमीबजारमा गाडी पुगेको छ । यससँगै दक्षिणी भेग अब दिक्तेलसँग नजिक बनेको छ । 

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा पुछार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले (साप्सु खोलाबाट आहालेसम्म) गाउँपालिकाले ८ किलोमिटर सडक पुनः मर्मत गरेपछि पञ्चमीबजारसम्म गाडी पुगेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले जानकारी दिए । ड्रेन सहित ५ मिटर चौडाइ भएको सडकमा बिहीबार गाउँपालिकाको गाडी गुडाएर सफल परिक्षण गरिएको थियो । 

गाउँपालिकाको गाडी पुगेसँगै अन्य बस तथा जीपहरु अब सहजै दिक्तेल–पञ्चमीबजार आवतजावत गर्न सक्नेछ । त्यसका लागि सम्बन्धित यातायात व्यवसायीले गाडी लगाउन चासो दिनुपर्ने भएको छ । अब दिक्तेलबाट छुट्ने गाडीहरु खानीडाडाँ आहाले हुदैं याम्खास्थित रातमाटामा रहेको र्यापको सडकमा जोडिने छ । याम्खा पुछार साप्सु खोलादेखी–याम्खा रातमाटासम्म पहिले नै सडक तयारी भइ गाडी गुडिरहेको छ ।


दिप्रुङ गाउँपालिकाले खाल्लेको आहालेसम्म सडक मर्मत गरेपनि आहालेदेखी दिक्तेलसम्मको करीव ७ किलोमिटर सडकको अवस्था नाजुक रहेको छ । आहालेदेखी दिक्तेलसम्म साविक खाल्लेको ९ र ८ मा सकडको समस्या रहेको वडाध्यक्ष डिल्लीकुमार राईले बताए । उनका अनुसार ती दुई ठाउमा सोलिङ गर्न र सडक मर्मतका लागि वडाले ६ लाख  ३० हजार बजेट बिनियोजन गरेको छ । तिहारपछि तत्काल काम सुरु गरिने उनले जानकारी दिए ।

पञ्चमीबजरका लागि गाडी स्टेण्डबाई रहेको तर, बाटो तयार नभएकाले गाडी पठाउन नसकिएको खोटाङ यातायात प्रालिका सचिव रामकुमार हिङमाङले बताए । नयाँ ट्रयाक खोलिएको कुरा तपाईबाट थाहा पाए । उनले भने, ‘नयाँ ट्रयाक खोलिएको कुरा औपचारिक रुपमा जानकारी आएको छैन । त्यो बाटोमा गाडी जान्छ/जादैन परिक्षण गरिएको छैन । उनले थपे, ‘यदि बाटोमा गाडी गुड्छ र सर्वसाधारण लाभान्वित हुन्छन् भने हामी गाडी लान तयार छौ । तर हामीलाई सडक बनेको आधिकारीक जानकारी आएको छैन ।’  

उक्त रुटमा बस सञ्चालन भएमा दक्षिणी भेगका स्थानियलाइ मनमाया राई खानीडाडाँ विमानस्थल प्रयोग गर्न तथा दिक्तेल, काठमाण्डौ जान आउन अधिक छिटो र सहज हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!