मेलम्ची आयोजनाको काम तीव्र गतिमा, पुससम्म पानी ल्याउने तयारी

Posted on: 04 Nov, 2018

कार्तिक १८, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ । 

आयोजनाको बाँकी काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताउनुभयो । ‘‘मेलम्ची खानेपानीको काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने गरी ठेकेदार कम्पनीले दु्रत गतिमा काम गरिरहेको छ ।’’ उहाँले भन्नुभयो, ‘‘पहिले दैनिक एक सय मिटर क्षेत्रमा काम भइरहेकामा अहिले दैनिक झण्डै तीन सय मिटरसरम्म काम भइरहेको छ । चाँडो काम सक्ने लक्ष्यका साथ सामग्री र कामदार दुवै बढाइएको छ ।” 

दुई दशक पहिले शुरु गरिएको योजनाको काम अन्तिमचरणमा पुगेकाले अब लामो समय नलाग्ने उहाँको भनाइ छ । आयोजनाअन्तर्गत अन्तिम काम (फिनिसिङ) मात्रै बाँकी छ । सुरुङको केही भागमा हावा जाने ठाउँ र केहीमा द्वार(गेट) बनाउन बाँकी छ । 

पानी काठमाडौँ उपत्यकामा आएको एक दुई दिनमै परीक्षण गरेपछि नियमित रुपमा घरघरमा लगिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) प्रमुख महेश भट्टराईले बताउनुभयो । 

मेलम्चीको खानेपानी भण्डारण गर्न केयूकेएलले उपत्यकामा ९ स्थानमा ठूला ट्याङ्की राखेको छ । ट्याङ्कीको क्षमता छ घण्टासम्म आएको पानी सङ्कलन गरेर राखिनेछ । यही ट्याङ्कीबाट विभिन्न पाइप हुँदै सेवाग्राहीका घरमा पानी पुग्नेछ । उहाँले भन्नुभयो, ‘‘ट्याङ्कीबाट पहिले मुख्य पाइपबाट प्राथमिक पाइप हुँदै सहायक पाइपबाट घरघरमा पानी पुग्छ ।’’ 

ठूलो परिमाणमा पहिलो पटक पानी भित्रन लागेकाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर लिमिटेडले योजना बनाइरहेको छ । केयूकेएलका प्रमुख भट्टराईका अनुसार पानीलाई सर्वसाधारणको घरसम्म पु¥याउनका लागि एक हजार मिटर पाइप चक्रपथको वरपर बिच्छ्याउँदै गरिएको छ । 

नयाँ ट्याङ्कीबाट पानी परीक्षणका लागि केही महीना लाग्ने भएकाले पहिले पुरानो ट्याङ्कीबाट सङ्कलन गरेर पाइपबाट पानी वितरण गरिने छ । उहाँले भन्नुभयो, ‘‘नयाँ ट्याङ्की र पाइप सबै हिसाबले पानी पठाउन सही देखिएपछि नै पठाइनेछ ।’’ 

परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसअन्तर्गत मेलम्ची नदीको मुहान निर्माण भएको छ । स्थानीय रिबर्मादेखि सुन्दरीजलसम्म करीब २६ किलोमिटर लामो सुरुङबाट दैनिक १७ करोड लिटर पानी उपत्यका भित्र्याउने लक्ष्य रहेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७÷१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी दैनिक काठमाडौँ उपत्यका भित्र्याउने दीर्घकालीन लक्ष्य आयोजनाको छ । 

सन् २००२ मा गरिएको प्रारम्भिक अनुमान अनुसार आयोजनाको जम्मा लागत ४६४ मिलियन युएस डलर छ । आयोजनामा नेपाल सरकारसँगै एशियाली विकास बैंक, विश्व बैक, जेबिक, नोराड, सिडा, ओपेकलगायतका संस्थाको पनि आर्थिक सहयोग रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!