पर्बतको मिलनचोक–ठोट्नेरी सडक कालोपत्रे गरिँदै

Posted on: 09 Nov, 2018

कात्तिक २३, पर्वत (रासस) | उत्तरी पर्वतको जलजला गाउँपालिकामा खनिएका सडक स्तरोन्नति गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारले विनियोजन गरेको चालु आर्थिक वर्षको बजेटबाट विभिन्न सडक कालोपत्रे र स्तरोन्नति गरिने भएका छन् । मालढुङ्गा–बेनी सडकबाहेक अन्य सडक कालोपत्रे हुन सकेका छैनन् । जलजला गाउँपालिकामा मिलनचोक–ठोट्नेरी सडक कालोपत्रे गर्न थालिएको छ । जलजला गाउँपालिका–७ मिलनचोकदेखि वडा नं ६ शालिजाको ठोट्नेरीसम्मको सडक कालोपत्रे हुँदैछ । 

मिलनचोक, सल्यान, घायखेत, धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा, लेकफाँट, रातमाटा हुँदै माझफाँटदेखि बेनीसम्म रिङरोड बनाउने अवधारणासहित गण्डकी प्रदेशले यस सडकलाई नमूना बनाउन लागेको हो । नमूना सडक निर्माणका लागि प्रदेश सरकारले चालु आवमा रु दुई करोड १० लाख विनियोजन गरेको छ । एघार वर्षअघि खनिएको ग्रामीण सडकलाई नमूना बनाउनका लागि प्रतिनिधिसभाका सांसद पदम गिरी र गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीको पहलमा चालु आवमा उक्त बजेट विनियोजन गरिएको हो । 

नमूना सडक निर्माणका लागि मिलनचोकदेखि १५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाइँदै छ । डिपिआर निर्माण गर्न सडकको सर्वे गर्ने काम थालिएको मिलनचोक–सल्यान धारापानी–ठोट्नेरी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक आचार्यले बताउनभयो । सडक निर्माणपछि धाइरिङको कृषि उपजलाई बजारसम्म पुर्याउन सहयोग पुग्नेछ । पर्यटकीयस्थल जलजलाका साथै भुमेथानको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने वडाध्यक्ष टुङ्गनाथ आचार्य बताउनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!