रातो मछिन्द्रनाथको मन्दिर पुनःनिर्माणमा ढिलाइ

Posted on: 13 Nov, 2018

सञ्चिता घिमिरे | कात्तिक २७, ललितपुर | तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतिस्थित रातो मछिन्द्रनाथ मन्दिरको पुनःनिर्माणमा ढिलाइ भएको छ । 

विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको शुरुआत यहीँबाट गर्नुभएको थियो । मन्दिरको पुनःनिर्माण भने ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभावलगायतका कारण देखाएर ढिलाइ गरेको हो । निर्माणमा प्रयोग भएको इँटामा अङ्ग्रेजी लेखिएको भन्दै स्थानीयवासीसमेत असन्तुष्ट बनेका थिए । 

श्रीलङ्का सरकारको सहयोगमा निर्माणाधीन यो मन्दिर सम्झौता अनुसारको अवधिमा नसकिएपछि पुरातत्व विभागले म्याद थप गरेको हो । गत जुलाईमा म्याद सकिएपछि विभागले छ महीना अवधि थप गरेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । थप भएको अवधिमा समेत काम सम्पन्न हुने देखिएको छैन । उहाँले भन्नुभयो, “पहिले भन्दा थपिएको अवधिमा कामको गति केही बढेको छ, तर सकिने छाँटकाँट छैन ।” 

प्रेरा भेगिम तुल्सी जेभीले मन्दिर निर्माणको जिम्मेवारी लिएको छ । गत जुलाईमा दुई वर्षको ठेक्का सम्झौताको अवधि सकिएको हो । केही दिन पहिले पुनःनिर्माणको प्रगति हेर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको टोली बुङ्गमति पुगेको थियो । प्राधिकरण पुगेपछि पनि ठेकेदारले केही तदारुकता देखाउन थालेको छ । पहिलोपटक थप भएको अवधिमा कामले गति लिँदा मात्रै दोस्रोपटक म्याद थप हुने विभागले जनाएको छ । जुन गतिमा काम हुनुपर्ने हो त्यो नभइरहेको उहाँले बताउनुभयो । ठेकेदार कम्पनीले काम नदेखिए पनि काम भइरहेको बताएको प्रमुख प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले पनि उसले केही काम प्राङ्गणमा नै गर्न लागेको छ ।” 

शिखरशैलीको यो मन्दिरमा ३६ फिट लामो काठको खाँचो पर्छ । एउटै काठबाट बनाउन नसकिने हुनाले तीन वटासम्म जोडेर बनाउन सकिने प्रमुख प्याकुरेलले बताउनुभयो । सहजरुपमा उपलब्ध नहुने हुँदा कार्यालयले पहिले यो काठ ल्याउन ठेकेदारलाई भनिरहेको छ । उहाँले भन्नुभयो, “यो काठ ल्याएर तोकिएको आकारको बनाउन थाले काम चाँडो हुन्छ भन्नेमा विश्वास गर्न सकिन्थ्यो ।” 

एक तलाको मन्दिर र त्यस माथि शिखरशैली भएकामा पहिलो तलामा केही काम भइसकेको छ भने केही भइरहेको छ । मन्दिरको गजुरको मर्मतको काम बाँकी छ । मन्दिरमा ढुङ्गाको खम्बा उठाइएको छ । चार दिशामा रहेको मूल ढोकाको मर्मत सकिएको छ । सरसफाइ गर्न बाँकी रहेको छ । स्थानीयवासीले ढोकामा पहिले आफूखुशी रङ लगाएर ढोकाको स्वरुप बिग्रिएको थियो । त्यसलाई सुधार्ने काम अहिले भइरहेको छ । पर्खाल उठाइसकेको प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो तलामा भन्दा पनि शिखरशैलीमा काम चाँडो गर्न आवश्यक छ ।” 

मूल ढोकाको मर्मतको काम सकिएकाले पहिले जडान गरेर मात्रै सफाइ गर्ने ठेकेदार कम्पनीको योजना रहेको बताइएको छ । स्थानीयवासीलाई मन्दिरको काम भइरहेको छ भन्ने देखाउन जडान गरेर सफाइ गर्न लागिएको हो । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्यन्द्रनाथको जात्रा मानिन्छ । जावलाखेलमा भोटो जात्रा सकिएपछि देवतालाई यही मन्दिरमा राख्ने गरिन्छ । देवता बुङ्गमतिमा रहँदा विभिन्न पर्व पर्छन् । पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँका नियमित पर्वमासमेत असर परेको स्थानीयवासीले बताउँदै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!