चीन र भारतलाई जोड्ने हिल्सा–सुर्खेत–जमुनाह सडकको सम्भाव्यता अध्ययन सुरु

Posted on: 14 Nov, 2018

कात्तिक २८, सुर्खेत | चीन र भारतलाई जोड्ने हिल्सा–सुर्खेत–जमुनाह त्रिदेशीय सडकको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । चीन सरकारको स्वामित्व रहेको चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीले मंगलबामरदेखि उक्त सडकको सम्भाव्यता अध्ययन थालेको हो ।

कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीको प्रतिनिधी टोलीले उक्त सडकको हवाई सर्भे गरेको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक बिकास मन्त्री दल रावल, भौतिक पूर्वाधार बिकास मन्त्री खड्ग खत्री र विपक्षी दलका नेता जीवनबहादुर शाही र कम्पनीको तर्फबाट कविन्द्र जोशी नेतृत्वको १२ सदस्यीय टोलीले हेलिकोप्टरबाट त्रिदेशीय सडकको सम्भाव्यता अध्यययन सुरु गरेको जनाइएको छ । ‘सडकको सम्भावितस्थल रुटको हवाई अध्ययन थालिएको छ’ मन्त्री ज्वालाले भने, ‘भोली (बुधबार)बाट चाइना रेलवे कम्पनीको एक प्राविधिक समूहले सडकमार्ग भएर अध्ययन गर्ने र कर्णाली सरकारले विभिन्न क्षेत्रसंग छलफल गर्नेछ ।’


झण्डै एक महिना कर्णालीमा रहने चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीको प्रतिनिधी टोलीले दुई साताभित्र उक्त सडककको सम्भाव्यता प्रतिवेदन बनाई सरकारलाई बुझाउने छ । सडकको सम्भाव्यता र लागत अनुमान समेत कम्पनीले तयार गरेको प्रतिवेदनका आधारमा नेपाल सरकार, कर्णाली प्रदेश सरकार र चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीको लगानी तथा अन्य सहयोगका बारेमा छलफल गरिने मन्त्री ज्वालाले बताए । असोजमा भएको कर्णालीका मुख्यमन्त्री शाहीको चीन भ्रमणको क्रममा पहिलो चरणमा चीन सरकारको सहयोगमा हिल्सा–सुर्खेत–जमुनाह सडक निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने सहमती भएको थियो । चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीले सम्भाव्यता अध्ययनपछि प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा संघीय सरकारसँग सम्झौता गरेर यो द्रुतमार्ग निर्माणको काम अगाडि बढाइने गरी सहमति भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । कर्णालीको विकास र समृद्धिको मेरुदण्ड भएको हिल्सा–जमुनाह सडक निर्माणले अन्य विकासका आधारहरू तयार गर्ने उनको विश्वास छ ।

चीनको तिब्बत र भारतको उत्तरप्रदेशसँग जोडिने त्रिदेशीय मार्ग कर्णाली र प्रदेश ५ लाई समेट्नेछ । उत्तरी नाका हिल्साबाट दक्षिणी नाका जमुनाहसम्म पाँच सय २१ किलोमिटर हुनेछ । यसले हिल्सा, सिमिकोट, लैफु, खुलालु, बामेसिमल, नेपालगन्ज हुँदै जमुनाहलाई जोड्नेछ । यसले तिब्बतको हिल्सासँग कर्णाली प्रदेशको सम्बन्ध जोड्ने विश्वास गरिएको छ । छिमेकी देशसँग सीधा र सहज आवतजावत नभएको कर्णाली प्रदेश मात्रै हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!