काठमाडौँ दृश्यावलोकन स्तम्भ निर्माणको काम अगाडि बढ्यो

Posted on: 18 Nov, 2018

शर्मिला पाठक | मङ्सिर २, काठमाडौँ | काठमाडौँ दृश्यावलोकनस्तम्भ निर्माणको काम अगाडि बढेको छ । सम्झौता भएको लामो समयसम्म काम शुरु हुन नसके पनि तीन महीनादेखि नियमित रुपमा काम भइरहेको छ । अहिले निर्माणका लागि जमीनमुनि गर्नुपर्ने काम भइरहेको र अबको एक महीनापछि देखिनेगरि नै काम हुने कामपा, निजी साझेदारी एकाइ प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । 

“केही महीनाअघिसम्म पनि निर्माणको काम के होला भन्ने अवस्था रहे पनि अब काम हुनेमा कामपा ढुक्क छ”, काफ्लेले भन्नुभयो । निर्माण गर्नका लािग कम्पनीले चासो देखाएकाले आवश्यक परे समय थप्ने तयारी पनि कामपाको छ । नियमानुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक दुई वर्षका लागि समय थप्न मिल्छ । 

स्तम्भ निर्माणका लागि कामपा तथा जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ साल फागुन २२ मा सम्झौता भएको थियो । सम्झौतानुसार सम्झौता भएको पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । “पछि काम गर्ने वातावरण हुँदा पनि काम गरेको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन । कम्पनीले कामपालाई शुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता अनुरुपको कर दिइरहेको छ”, प्रमुख काफ्लेले भन्नुभयो । 

गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ । हाल १५ प्रतिशत काम भएको स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङ स्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ स्थल, व्यवस्थित चलचित्रघर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सो अग्लोघर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ । 

स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । साठी प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ । स्तम्भमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना पनि छ । कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेसम्म कामपालाई करस्वरुप रु पाँच करोड बुझाइसकेको छ । तीन वर्षदेखि निर्माण शुरु गर्ने योजना भएकाले बसपार्कबाट आवतजावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ । 

हाल केही समयका लागि तय गरिएको बसपार्क साँगुरो हुँदा यातायातको साधनले खुम्चिएर आवतजावत गरिरहेका छन् । कम्पनीले आवश्यकता ठहर गरे अबको केही दिनमा नै कामपाले समय थप गर्नेछ । उक्त स्तम्भ निर्माणका लागि दैनिक ५० कामदारले काम गरिरहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!