नेपालका औषधि उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेनन्

Posted on: 25 Nov, 2018

मङ्सिर ९, चितवन (रासस) | नेपालका औषधि उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । 

मागको ७० प्रतिशत नेपाली उत्पादनले धान्न सक्ने भए पनि ४१ प्रतिशत मात्रै उत्पादन हुँदै आएको व्यवसायीले बताएका छन् । नेपाल औषधि उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष दीपकप्रसाद दाहालले यहीँ उत्पादन हुने औषधि पनि प्रतिस्पर्धाका नाममा आयात गर्दा क्षमताअनुसार नेपाली उद्योगले उत्पादन गर्न नसकेको बताउनुभयो । 

भारतले त्यहाँका औषधि उद्योगलाई विभिन्न ३५ वटा शीर्षकमा अनुदान दिने भए पनि नेपालमा त्यो व्यवस्था छैन । जसका कारण भारतमा उत्पादित औषधि सस्तो हुने गर्दछ । दाहालले विश्वका अधिकांश मुलुकले आफ्नो देशमा उत्पादन हुने औषधिको कच्चा पदार्थ मात्रै विदेशबाट आयात गर्ने भए पनि नेपालमा त्यसो हुन नसक्दा क्षमताअनुसार उत्पादन गर्न नसकिएको बताउनुभयो । 

नेपालमा हाल ५३ औषधि उद्योग सञ्चालनमा छन् । पन्ध्र उद्योग सञ्चालनको तयारीमा छन् । ती उद्योगमा रु २५ अर्बभन्दा बढी लगानी भएको सङ्घले जनाएको छ । नेपाली उत्पादनले ४१ प्रतिशत धानेको छ भने ४९ प्रतिशत भारतीय र १० प्रतिशत अन्य विदेशी मुलुकबाट औषधि आयात हुँदै आएको छ ।

गत आर्थिक वर्षमा मात्रै रु २५ अर्ब ८१ करोडको औषधि आयात भएको उहाँले जानकारी दिनुभयो । यहाँका उद्योगले रु १८ अर्ब २५ करोडको औषधि उत्पादन गरेका थिए । भारतबाट मात्रै रु २१ अर्ब ४२ करोडको औषधि आयात भएको बताइएको छ । आव २०७२/७३ मा ४५ प्रतिशत हिस्सा नेपाली औषधिले धानेको भए पनि गत आर्थिक वर्षमा चार प्रतिशतले कमी आएको छ । 

यहाँका उद्योगी कच्चा पदार्थमा समेत भारतमा निर्भर छन् । वर्षेनी रु ६ अर्ब हाराहारीको कच्चा पदार्थ भारतबाट आउने गर्दछ । दाहालले भारतले पनि ८० प्रतिशतभन्दा बढी कच्चा पदार्थ चीनबाट आयात गर्ने गरेको जानकारी दिनुभयो । ठूलो मात्रामा ल्याउनुपर्ने भएकाले नेपालले सोझै चीनबाट कच्चा पदार्थ आयात गर्न नसकेको उहाँको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!