कालभैरव मन्दिरको प्रचारका लागि दौड, बन्दीपुरको गुरुयोजनाका लागि सुझाव

Posted on: 25 Nov, 2018

मङ्सिर ९, दमौली (रासस) | तनहुँको म्याग्दे गाउँपालिका–५ मुलाबारीस्थित कालभैरव मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले आज दौड प्रतियोगिता आयोजना गरिएको छ । 

कालभैरव मन्दिर विकास समितिले मन्दिरको प्रचारप्रसार गर्दै मुलाबारीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । थर्पु बजारदेखि मन्दिरसम्म आयोजना गरिएको दौडको उपाधि खगेन्द्र रानाभाटले जित्नुभएको छ । 


उहाँले आठ किमी दूरीको दौड ३३ मिनेट पाँच सेकेण्डमा पूरा गर्नुभएको थियो । प्रतियोगितामा रमेश मङ्ग्राती द्वितीय, रुपलाल बुढाथोकी तृतीय, सुवास थापा सान्त्वना हुनुभयो । उहाँहरुले क्रमशः ३५ मिनेट ८ सेकेण्ड, ३८ मिनेट २५ सेकेण्ड, ३९ मिनेट ३८ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । 

महिलातर्फ प्रिया राईले ५० मिनेट १० सेकेण्डमा उक्त दूरी पार गर्दै प्रथम स्थान हासिल गर्नुभयो भने विष्णु लामिछाने द्वितीय, देवीकला गुरुङ तृतीय, लीला बस्याल सान्त्वना हुनुभयो । उहाँहरुले क्रमशः ५५ मिनेट १५ सेकण्ड, ५५ मिनेट ५० सेकेण्ड, ६० मिनेट ५० सेकेण्डमा उक्त दूरी पार गर्नुभयो ।

म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले विजयी प्रतियोगीलाई क्रमशः रु १५ हजार, रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ १५७ र महिलातर्फ ६० धावक सहभागी थिए । 


तश्वीर साभार: भानु एफएमको फेसबुकबाट 

बन्दीपुरको गुरुयोजनाका लागि सुझाव 

बन्दीपुर गाउँपालिकाको दीर्घकालीन गुरुयोजनाका लागि सुझाव सङ्कलन गर्न थालिएको छ । 

शनिबार स्थानीय सरोकारवालासँग आयोजित अन्तरक्रियामा बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ, नेपाली काङ्ग्रेस बन्दीपुर गाउँपालिका सभापति कर्ण खत्री, राप्रपाका नेता गोवद्र्धन भट्टराई, युवा बुद्धिजीवी आशुतोष प्रधानलगायतले पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलाई पनि गुरुयोजनामा समेट्नुपर्नेमा जोड दिनुभएको थियो । 

गाउँपालिकाका प्रमुख पूर्णसिं थापाले बन्दीपुरलाई कस्तो बनाउने भन्ने सन्दर्भमा सबै सरोकारवालासँग समन्वय गरी २० वर्षे दीर्घकालीन गुरुयोजना बनाउन लागिएको र जानकारी दिनुभयो । सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरिसकेकाले पर्यटन वर्षमा बन्दीपुरले गर्न सक्ने योगदानको बारेमा समेत छलफल भइरहेको उहाँले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!