सुरक्षा योजनाको निजी क्षेत्रद्वारा स्वागत, आजको दिनलाई हरेक बर्ष दिवसको रुपमा मनाइने

Posted on: 27 Nov, 2018

शरद शर्मा | मङ्सिर ११, काठमाडौँ (रासस) | सरकारले आजदेखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना नीतिलाई निजी क्षेत्रले स्वागत गरेको छ । 

श्रमिकको भविष्य र उद्योगको लगानीको सुनिश्चित हुने भएपछि निजी क्षेत्रले योजनाको स्वागत गर्दै नेपालले श्रम क्षेत्रमा नयाँ युग प्रवेश गरेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गर्दै आजदेखि लागू गरेको हो । 

मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको सामजिक सुरक्षा योजना घोषणा कार्यक्रममा श्रमिकदेखि रोजगारदाता उल्सासपूर्वक सहभागी भएका थिए । योजनाअन्तर्गत अब श्रमिकले आजीवन निवृत्तिभरण पाउनेछन् र उद्योग व्यवसायमा पनि लगानी सुरक्षित भई गुणात्मक उत्पादन बढाउन सहयोग पुर्याउनेछ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले योजना लागू भएपछि नेपाल श्रम क्षेत्रमा नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । उहाँले योजनाले श्रमिक मात्र नभई हरेक नेपालीको जीवन प्रभावित बनाउने भएकाले सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । ‘‘योजनाले श्रमिकको भविष्य सुरक्षित बनाउनाका साथै उद्योग–व्यवसायले पनि उत्पादनमा उल्लेखनीय वृद्धि हुनेछ,” उहाँले भन्नुभयो, “नेपालको श्रमबजार गतिशील र मर्यादित बनाउन यसले सहयोग पुर्याउँछ ।’’ 


माथिको तश्वीरमा: राजधानीमा आयोजना गरिएको सामाजिक सुरक्षा कोष, नेपालको औपचारीक सुभारम्भ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रदीपराज वन्त,रासस

सरकारले नेपालको संविधानको धारा, ४३ मा मौलिक हकअन्तर्गत रहेको सामाजिक सुरक्षा हकलाई कार्यान्वयन गर्नका लागिसमेत सामजिक सुरक्षा योजना ल्याएको हो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपालमा नै काम गरेर खाने वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले उद्योगी रोजगारदाताले पाँच कदम अगाडि बढेर योजना ल्याएको भन्दै यसको सफल कार्यान्वयनसँगै १० वर्षभित्रमा सबै नेपाली आफैँ व्यवस्थापक बन्ने दाबी गर्नुभयो । 

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका निवर्तमान अध्यक्ष सुरेश प्रधानले रोजगारदाता र श्रमिकबीच सम्बन्धमा सुधार ल्याई व्यवस्थित उद्योग सञ्चालनमा सहयोग पुर्याउने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने आधार खडा गरेको बताउनुभयो । नेपाल रोजगारदाता परिषद्का अध्यक्ष चन्द्र ढकालले योजनाले आर्थिक अभावमा वैदेशिक रोजगारमा जानेलाई नेपालभित्र नै श्रमबजार उपलब्ध गराउने बताउनुभयो । 

“योजनाले श्रमिकले वैदेशिक रोजगारमा कमाउने पैसा मुलुकमा नै कमाउने भएपछि उनीहरुको वर्तमान र भविष्य सुरक्षित गरेको छ,” उहाँले भन्नुभयो, ‘‘देशमा नै श्रममैत्री वातावरण तयार भएको छ । अब विदेशिनु पदैन ।” विसं २०७६ साउन १ गतेपछि कुनै पनि रोजगारदातासँग रोजगार सम्बन्ध कायम भएका श्रमिक निवृत्तिभरण योजनामा सहभागी हुन पाउनेछन् । 

निवृत्तिभरण योजनाअन्तर्गत योगदानकर्ताले अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कूल योगलाई १८० महीना अर्थात् १५ वर्ष ले भाग गर्दा हुन आउने रकम प्रत्येक महीना निजको जीवनकालभर पाउनेछन् । निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा पन्ध्र वर्ष योगदान गरेको हुनुपर्नेछ । योजना अनुसार सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुनेछ सोही रकमबाट श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । 

नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले योजनाले नेपाली नेपालमा नै उचित पारिश्रमिक पाउनका लागि भौँतारिनु नपर्ने र वैदेशिक रोजगारमा समेत जानु नपर्ने बताउनुभयो । उहाँले श्रमिक वर्गको जीवन सुधार ल्याउन योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै लोकल्याणकारी व्यवस्थाबाट मुलुकमा समाजवाद ल्याउन कडीका रुपमा योजना रहेको बताउनुभयो । उहाँले सबै उद्योगी, ट्रेड युनियन र श्रमिक मिलेर सफल कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । 

अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष गणेश रेग्मीले नेपाली मजदूर सामाजिक सुरक्षाका लागि वर्षौंदेखि लड्दै आए पनि अहिले मात्र माग पूरा भएको बताउनुभयो । उहाँले कामबाट हट्दा खाली हात फर्कनुनपर्ने र आजीवन निवृत्तिभरण पाइने भएकाले श्रमिकको उचित मूल्याङ्कन गरिएको बताउनुभयो । नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्यले योजनाले मुलुकमा उत्पादन वृद्धि र रोजगारी वृद्धिमा उल्लेखनीय योगदान गर्ने बताउनुभयो । 

संयुक्त ट्रेड युनियन समन्वय समितिका महासचिव चिराकसिंह कुँवरले नेपालमा नै भनेजस्तो श्रमिकले सुविधा पाउने भएकाले रोजगारीका लागि लाखौँ नेपाली विदेशिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । समाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले श्रमिकले औषधोपचारदेखि आजीवन निवृत्तिभरण पाउने भएकाले श्रमले भविष्य नेपालमा रहेको बताउनुभयो । श्रमिकले स्वास्थ्योपचार, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र आजीवन निवृत्तिभरण पाउनेछन । सामजिक सुरक्षा योजना लागू गरेको दिनलाई सरकारले हरेक वर्ष सामाजिक सुरक्षा दिवस मनाउने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!