सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु

Posted on: 02 Dec, 2018

मङ्सिर १६, खस्यौली (रासस) | सामूहिक लगानीमा सञ्चालन हुन लागेको सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु भएको छ । 

भिजन लुम्बिनीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा आयोजनाको सर्वेक्षण कार्य पूरा भई आवश्यक पर्ने गृहकार्यसहित प्राविधिक कार्य अघि बढेको र आगामी असोजपछि निर्माण कार्यसमेत शुरु हुने आयोजनाका अध्यक्ष जगत् पोखरेलले जानकारी दिनुभयो । करीब रु पाँच अर्ब लगानी गरिने २५ मेघावाट क्षमताको सो आयोजनामा भिजन लुम्बिनीमा आबद्ध एक हजार सदस्यले रु पाँच लाखदेखि रु एक करोडसम्म लगानी गरेका छन् । कास्कीको सर्दिखोला माछापुच्छ्रे गाउँपालिकाको सीमामा सो आयोजनास्थल रहनेछ । 

नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच गएको मङ्सिर ६ गते काठमाडौँमा विद्युत् खरीद सम्झौता (पिपिए) भएको थियो । आयोजनासँग वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा खरीद दर निर्धारण गरिएको छ । “हामीले विद्युत् खरिद सम्झौता गरिसकेका छौँ अब जलविद्युत् आयोजनाको भविष्य के हुने र त्यसबाट उत्पादन भएको विद्युत् कहाँ निर्यात गर्ने भन्ने विषय सरकारको हो”, भिजन लुम्बिनीका वित्त निर्देशक ज्ञानेन्द्र कसजुले भन्नुभयो । 

आयोजनाले गत साउन १७ गते पोखरामा सेती नदी जलविद्युत् आयोजना र माछापुछ्रे गाउँपालिका– २ का स्थानीयसँग आयोजना निर्माणका लागि विभिन्न सम्झौता पनि गरेको छ । भिजन लुम्बिनीले यसबाहेक स्वास्थ्य, शिक्षा, अर्थ तथा वित्त, पर्यटन विकास, अध्ययन अनुसन्धान तथा जनसम्पर्कलगायतका क्षेत्रमा पनि काम गर्ने जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!