अझै ७६ तहमा पुगेनन् बैंकका शाखा

Posted on: 03 Dec, 2018

मङ्सिर १७, काठमाडौँ | सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गरेको भए पनि ७६ स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक विवरणअनुसार कूल ७५३ स्थानीय तह मध्ये ६७७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् । 

बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये ११९, प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३१ तहमा बैंकका शाखा खुलेका छन् । प्रदेश नं १ का १८ स्थानीय तहमा अझै बैंकका शाखा पुगेका छैनन् । प्रदेश नं २ का चार वटा मात्रै स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । 

राजधानी काठमाडौँसमेत रहेको प्रदेश नं ३ मा पनि हालसम्म आठ स्थानीय तहमा बैंकको शाखा खुल्न सकेको छैन । सो प्रदेशमा कूल ११९ स्थानीय तह रहेकामा गत असोज मसान्तसम्म १११ स्थानीय तहमा मात्रै बैंकका शाखा खुलेका छन् । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८२ वटामा मात्रै बैंकका शाखा खुलेका छन् । सो प्रदेशका तीन स्थानीय तह अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । 

प्रदेश नं ५ का दुई स्थानीय तहमा बैंकको शाखा नपुगेको केन्द्रीय बैंकले जनाएको छ । कूल १०९ मध्ये १०७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६२ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिम प्रदेशका कूल ८८ मध्ये ६५ स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन् । 

केन्द्रीय बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १५१ रहेकामा गत असोज मसान्तसम्म १५४ पुगेका छन् । त्यसमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त संस्था सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा छ हजार ६५१ रहेकामा गत असोज मसान्तमा सात हजार १४ पुगेको छ । 

बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु भएपश्चात् गत असोज मसान्तसम्म कूल १६४ वटा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!