चितवनमा ४३ करोडको तटबन्धन निर्माण हुने

Posted on: 07 Dec, 2018

मङ्सिर २१, चितवन | चितवन हुँदै बग्ने नदी, खोला र घोलमा यसै आर्थिक वर्षमा रु ४३ करोडको लागतमा तटबन्ध निर्माण गरिने भएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी, कयर खोला र केरुङ्गा घोलमा तटबन्धन गर्न लागेको हो । 

आयोजनाका प्रमुख मोहनकुमार शाक्यका अनुसार नारायणी नदीको चितवनतर्फ रु १२ करोड, सुस्तासहित नवलपरासीतर्फ रु आठ करोड, कयर खोलामा रु १५ करोड राप्ती र केरुङ्गा रु चार÷चार करोडको लागतमा तटबन्ध गर्न लागिएको हो । 

उक्त नदीका चितवनतर्फ गाँजापुरको चौकीडाँडा, हिरापुर, न्यूरेचोक र मझुवा सामुदायिक वन पछाडि तटबन्ध निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको छ । नवलपरासीतर्फ गैँडाकोट, रजहर, मध्यविन्दु र अमलटारीमा पनि तटबन्ध निर्माण गरिने छ । 

कयर खोलाको शक्तिखोर पुल २०० मिटर पूर्वबाट करीब तीन किमी दुवैतर्फ तटबन्ध गर्ने तयारी भएको प्रमुख शाक्यले बताउनुभयो । भरतपुर महानगरपालिका हुँदै राप्ती मिसिएको केरुङ्गा घोलमा आवश्यक परेका ठाउँमा तटबन्धनका लागि अध्ययन भइरहेको छ । 

यसअघिका वर्षहरुमा नारायणी नदीमा मात्रै तटबन्धन गर्दै आएको आयोजनाले यस वर्षबाट अन्य स्थानमा पनि तटबन्धन गर्न शुरु गरेको हो । आर्थिक वर्ष २०६६÷६७ मा जनताको तटबन्धन नामबाट काम गर्दै आएको उक्त कार्यालय हाल जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा गाभिएर आयोजनाको रुपमा विकास गरिएको हो । कार्यालय स्थापना भएदेखि नै नारायणी नदीमा तटबन्धन बनाउन थालिएको थियो । हालसम्म नारायणी नदीमा तटबन्धनका लागि रु एक अर्ब ३० करोड खर्च भइसकेको उहाँको भनाइ थियो । 

विसं २०६८ मा गरिएको अध्ययनमा नारायणी नदीबाट चितवन र नवलपरासी क्षेत्रलाई जोगाउन पुरै नदी तटबन्ध निर्माण गर्दा रु १० अर्ब ८१ करोड लाग्ने अनुमान गरिएकामा कम बजेट निकासा भएपछि बजेटअनुसार अत्यावश्यक ठाउँमा मात्रै तटबन्ध गरिँदै आएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!