उडाइनो झरना पूर्वाधारको पर्खाइमा

Posted on: 20 Dec, 2018

 पुस ५,गलेश्वर  (रासस)  | प्रचारप्रसार र आवश्यक पूर्वाधार व्यवस्थापनको अभावमा म्याग्दीको बेनी नगरपालिका–२ स्थित बगरफाँटमा रहेको रहेको आकर्षक उडाइनो झरना ओझेलमा परेको छ ।  

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करीब २५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करीब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–बरङ्जा सडकअन्तर्गत बगरफाँट गाउँबाट डेढ किलोमिटर दक्षिणमा पर्दछ । बेनपा–३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछ । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्त अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयवासीको भनाइ छ ।  

म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिपm्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने बताउनुभयो । रमणीय जङ्गलको बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपक्षीको बासस्थानसमेत छ । प्राकृतिक स्वरूप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाइने बेनपा–२ का वडासदस्य चन्द्रबहादुर कँुवरले बताउनुभयो । 

अधुरो खेल मैदानको निर्माण कार्य शुरु 

बजेट अभावका कारण गत वर्ष निर्माण कार्य स्थगित गरिएको बेनी नगरपालिका–२ बगरफाँटको खेल मैदान निर्माण कार्य शुरु भएको छ । चालू आर्थिक वर्षमा नगरपालिकाको रु पाँच लाख र वडा कार्यालयको रु दुई लाख गरी रु सात लाख बजेट प्राप्त भएपछि खेल मैदान निर्माण कार्य शुरु गरिएको सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार गत वर्ष रु पाँच लाख ६० हजारको लागतमा मैदान सम्याउने र माथिल्लो भागमा ५० मिटर प्यारापिट निर्माण गरिएको थियो । एक सय चार मिटर लम्बाइ र ५२ मिटर चौडाइको खेल मैदान निर्माणका लागि नगरपालिका र वडाबाट प्राप्त भएको बजेट पर्याप्त नरहेको कार्कीले बताउनुभयो । 

बेनीको खुलामञ्च खेल मैदानको विकल्पको रूपमा हेरिएको बगरफाँटको खेल मैदान निर्माणका लागि बजेट अपुग हुने भएपछि गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनलाई जानकारी गराइएको र मन्त्री पुनबाट सहयोग हुने आश्वासन पाए पनि बजेट प्राप्त भइनसकेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!