बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन

Posted on: 24 Dec, 2018

पुष ९, नवलपरासी (रासस) | विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ । 

गण्डक नहरमा आवश्यकताअनुसार पानी नहुँदा उत्पादन बन्द हुन पुगेको विद्युत् उत्पादन गृहको नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको गृहले जनाएको छ । 

नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी कात्तिक ६ गतेदेखि भारतीय गण्डक नहरमा पानी बन्द गरिएपछि विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुन पुगेको थियो । 

यद्यपि अहिले नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको छ । अहिले करीब प्रतिदिन ३.५ देखि चार युनिटसम्म विद्युत् उत्पादन हुने गरेको छ । 

विद्युत् उत्पादन गृहको स्थापनाकालमा तीन वटा टवाईन जडित गरी दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको भए पनि विगत दश वर्षदेखि दुई वटा टवाईन पूर्णरूपमा बिग्रिएर थन्किएका छन् । 

नहरमा आवश्यकताअनुसार पानी भएको अवस्थामा लामो समयदेखि एउटा मात्र टवाईन सञ्चालनमा आउने हुँदा क्षमताभन्दा निकै कम करीब ३.५ देखि चार मेगावाट मात्र विद्युत् उत्पादन हुने गर्दछ । 

भारतीय पक्षले प्रत्येक वर्ष एक पटक गण्डक नहरको मर्मतसम्भार र सरसफाइ गर्ने भनेर करीब दुई महीनाका लागि नहरमा पानी बन्द गर्ने गर्दछ । सो अवधिभर विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुने निश्चित छ । विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादनका लागि कम्तीमा पनि चार हजार क्युसेक पानी आवश्यक पर्दछ । 

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारको सहयोगमा तयार गरिएको विद्युत् उत्पादन गृहलाई २०३६ सालमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

भूकम्प प्रभावित समुदायलाई भवन हस्तान्तरण 

विंस २०७२ सालमा गएको भूकम्पमा परी घरविहीन बनेका परिवारलाई कुमारी निजी शैक्षिक गुठीले भवन हस्तान्तरण गरेको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको विकट पहाडी भेग कीर्तिपुरमा एक औपचारिक कार्यक्रमका बीच भूकम्प प्रभावित १२ घरपरिवारलाई कुमारी निजी गुठीका संस्थापक ट्रेन भ्यान रिज्वएसले घरको साचो हस्तान्तरण गरेको हो । 

घर हस्तान्तर कार्यक्रममा संस्थापक ट्रेन भ्यान रिज्वएसले गरीबी, पिछडिएका समाजमा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी मिलेको बताउनुभयो । पूर्वी नवलपरासीको कीर्तिपुर गाउँ देवचुली नगरपालिकाको पहाडी भेगकै रुपमा मानिन्छ । यस गाउँमा करीब १५४ घरधुरी रहेको छ । विद्युत्, स्वास्थ्य, शिक्षा सुविधाबाट यस समुदाय निकै पछाडि परेको छ । 

संस्थापक रिज्वएसले विगत ३० वर्ष अघिदेखि पूर्वी नवलपरासिको कावासोती हसौरामा कुमारी निजी शैक्षिक गुठी सञ्चालनमा ल्याएका हुन् । उहाँले शिक्षा, स्वास्थ्यदेखि विभिन्न सामाजिक कार्यमा पनि निकै ठूलो भूमिका निभाउन सफल हुनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!