मस्र्याङ्दीबाट कम विद्युत् उत्पादन

Posted on: 29 Dec, 2018

पुष १४, दमौली (रासस) | उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो । 

आयोजनाका प्रमुख बद्रीप्रसाद फुँयालले आयोजनाबाट हाल ४० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुख्खायाम लागेसँगै नदीमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घटेको छ ।” 

आयोजना प्रमुख फुँयालका अनुसार कात्तिक महीनाको दोस्रो साताबाट विद्युत् उत्पादन कम हुनथालेको हो । आयोजनामा २३÷२३ मेगावाट क्षमताको तीन टर्वाइन रहे पनि ४० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ । 

‘रन टु रिभर’ भएका कारणले नदीमा पानीको बहाव कम हुने बित्तिकै विद्युत् उत्पादन क्षमतामा कमी आउने तर जलाशययुक्त आयोजनामा भने जुनसुकै समयमा पनि समस्या नहुने उहाँको भनाइ थियो । 

आयोजनाबाट विद्युत् उत्पादन यथावत हुन वैशाख महीनाको अन्तिमसम्म लाग्ने जनाइएको छ । फागुन चैतमा वायुमण्डलको तापक्रम बढेर हिमाल पग्लिएपछि पानीको बहाव बढेर विद्युत् उत्पादनमा वृद्धि आउने आयोजना प्रमुख फुँयालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “वैशाखको अन्तिमदेखि जेठको पहिलो साताबाट मात्रै कूल क्षमता बमोजिमको विद्युत् उत्पादन हुनेछ ।” उक्त आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँस्थित स्युचाटार र चितवनको भरतपुर शवस्टेशनबाट केन्द्रीय प्रसारणमा जोडिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!