फिस्लिङ–शक्तिखोर सडकको शिलान्यास

Posted on: 31 Dec, 2018

पुस १६, चितवन (रासस) | जिल्लाको पहाडी क्षेत्र हुँदै पृथ्वी राजमार्ग जोड्ने फिस्लिङ शक्तिखोर सडकको आज शिलान्यास गरिएको छ । 

शक्तिखोर बजार नजिकै चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले सडकको शिलान्यास गर्नुभएको हो । 

एशियाली विकास बैंकको अनुदान सहयोगमा निर्माण हुने सो सडक ४७ किलोमिटर लामो हुनेछ । जसमध्ये शक्तिखोरदेखि तोलाङसम्मको ३७ दशमलव शुन्य सात किलोमिटर सडक निर्माण गर्न लागिएको हो । तोलाङबाट फिस्लिङसम्म यसअघि नै सामान्यरुपमा सडक निर्माण गरिएको छ । 

सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सान्जी र नेपालको आशिष निर्माण सेवाले पाएका छन् । रु ७८ करोड ९६ लाखको लागतमा सडक निर्माण गर्ने गरी सम्झौता भइसकेको छ । यद्यपि सडकलाई फिस्लिङसम्म जोड्नुपर्ने, कालोपत्रेको चौडाई बढाउनुपर्ने लगायतका कारण नक्साङ्कन फेरबदल हुनसक्ने बताइएको छ । 

ठेकेदार कम्पनीका सम्पर्क प्रबन्धक नारायण रिजालका अनुसार नालीसहितको सडकको चौडाई सात दशमलव २५ मिटर हुनेछ । अहिलेको ठेक्का सम्झौतानुसार तीन दशमलव २५ मिटर फराकिलो कालोपत्रे गर्ने भनिएको छ । यद्यपि सम्झौतामा केही फेरबदल गरी कालोपत्रे पाँच मिटर पुर्याउने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । 

सो सडकमा दुई ठाउँमा पुल र दुई ठाउँमा कजवे निर्माण गर्नुपर्ने हुन्छ । ती काम भने ठेक्कामा समावेश छैनन् । सडकको चार किलोमिटर बाहेकका ठाउँमा सामान्य बाटो (ट्रयाक) खोलिसकिएको छ । सडकलाई तीन भागमा विभाजन गरेर निर्माणको काम तीब्ररुपमा गरिने रिजालले बताउनुभयो । 

काम गरेको ७३० दिनमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । सडकको शिलान्यास समारोहमा सांसद पोखरेलले ग्रामीण क्षेत्रका जनतालाई यो सडक वरदान सावित हुने बताउनुभयो । सो क्षेत्रमा चेपाङ जातिको बाहुल्यता रहेको बताउँदै उहाँले ती जातिको जीवनस्तर उकास्न सडक सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, ठेकेदार कम्पनीका सम्पर्क प्रबन्धक नारायण रिजाललगायतले सो सडक महत्वमाथि प्रकाश पार्नुभयो । सडक शक्तिखोर नगरपालिका र इच्छाकामना गाउँपालिका हुँदै पृथ्वी राजमार्गमा जोडिनेछ । 

इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङले सो सडकले जिल्लाको पहाडी क्षेत्रको मुहार फेर्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!