बेनी–मालढुङ्गा सडक स्तरोन्नति शुरु

Posted on: 06 Jan, 2019

पुष २२, म्याग्दी (रासस) | जलजला गाउँपालिका–४ मोहनचोकदेखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक ट्र्याक खुलेको दुई दशकपछि स्तरोन्नति शुरु भएको छ । 

जलजला गाउँपालिकाले बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फड्केढुङ्गा हुँदै मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नति शुरु गरेको हो । विसं २०५५ मा विश्व खाद्य कार्यक्रमको सहयोगमा ट्र्याक खुलेको सडकलाई जलजला गाउँपालिकाले स्तरोन्नति गर्न लागेको वडाध्यक्ष भिष्म मल्लले जानकारी दिनुभयो । 

फराकिलो बनाउने, ग्यावियन र पक्की पर्खाल लगाउने, नाली बनाउने, ढलान र कालोपत्र गरिने उहाँले बताउनुभयो । गत वर्ष विनियोजन भएको रु ९० लाखबाट उपभोक्ता समितिमार्फत सिद्धको थान भन्ने ठाउँसम्म फराकिलो बनाएको सडकलाई थप बजेट विनियोजन गरेर निरन्तरता दिइएको छ । 

सडकको प्रवेशविन्दुमा पर्ने मोहनचोक नजिकै खोलाको किनार र खेतको बीचमा रहेको २८३ मिटर सडक ढलान गरिसकिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्र मल्लले बताउनुभयो । आठ मिटर चौडाइमा ढलानका साथै नाली पनि बनाइएको छ । 

सडक स्तरोन्नतिका लागि यस वर्ष गाउँपालिकाले रु ९९ लाख विनियोजन गरेको अध्यक्ष मल्लले बताउनुभयो । गत वर्ष नयाँ ट्र्याक खोलेर घुमाउरो सडकको एक किलोमिटर दूरी छोट्याइएको छ । हाल साढे तीन मिटर चाक्लो रहेको सडक कम्तीमा आठ मिटर फराकिलो बनाइने भएको छ । 

स्थानीयवासीलाई सहज रूपमा आवतजावतका साथै तरकारी, सुन्तला, दूधलगायत कृषि उपज निकासीमा सहज हुने अपेक्षा गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!