दृश्यावलोकन स्तम्भ निर्माणले गति लिएन

Posted on: 10 Jan, 2019

पुस २६, काठमाडौँ | करीब चार वर्षदेखि निर्माण कार्य शुरु गरेको काठमाडौँ भ्यू टावर (दृश्यावलोकनस्तम्भ) निर्माणको कामले अझै गति लिन सकेको छैन । 

निर्माण कार्य शुरु गरेको चार वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाडौँ महानगरपालिकाले नै स्वीकार गरेको छ । 

कामपा, निजी साझेदारी एकाइ प्रमुख धु्रव काफ्लेका अनुसार सम्झौता भएकोअनुसार काम हुने हो भने अहिले त कम्तिमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन । 

अहिलेसम्ममा जमीन मुनी ८० प्रतिशत काम भएको छ भनेमाथि नगन्य मात्रामा मात्रै काम भएको छ, समग्रमा १५ प्रतिशत भन्दाबढी काम भएको छैन । 

स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच विसं २०७१ फागुन २२ मा सम्झौता भएको थियो । सम्झौतानुसार सम्झौता भएको पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । 

काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । “पछि काम गर्ने वातावरण हुँदा पनि काम गरेको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन । कम्पनीले कामपालाई शुरुको समयदेखि नियमित रूपमा बुझाउनुपर्ने सम्झौता अनुरुपको कर दिइरहेको छ”, प्रमुख काफ्लेले भन्नुभयो । 

नियमानुसार सम्झौताअनुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक दुई वर्षका लागि समय थप्न मिल्छ । गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ । 

निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका, गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । 

स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट््याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । सो अग्लो घर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ । 

कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेसम्म कामपालाई कर स्वरुप रु पाँच करोड बुझाइसकेको छ । 

तीन वर्षदेखि निर्माण शुरु गर्ने योजना भएकाले बसपार्कबाट आवतजावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ । 

हाल केही समयका लागि तय गरिएको बसपार्क साँगुरो हँुदा यातायातको साधनले खुम्चिएर आवतजावत गरिरहेका छन् । कम्पनीले आवश्यकता ठहर गरे अबको केही दिनमा नै कामपाले समय थप गर्नेछ | रासस |


यस बिषयमा तपाइको प्रतिक्रिया...!