नख्खु कारागारका दुई ब्लकको पुनःनिर्माण अन्तिम चरणमा

Posted on: 11 Jan, 2019

पुस २७, काठमाडौँ | नख्खु कारागारका भूकम्पका समयमा क्षतिग्रस्त ब्लकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । 

आगामी असारसम्ममा दुई ब्लकको काम सक्ने योजना रहेको जेलर जीवन दुलालले बताउनुभयो । 

भूकम्पका समयमा यहाँका ब्लक पूर्ण क्षतिग्रस्त भएपछि दुई वर्ष अघिदेखि यहाँ पुनःनिर्माण शुरु भएको थियो । कम्युनिटी रिहविलिटेशन सेन्टर (सिआरसी) र ड्रग्स रिहविलिटेशन सेन्टर (डिआरसी) को पुनःनिर्माण भइरहेको हो । सम्झौताको अवधिभित्रै काम सक्ने गरी काम भइरहेको छ । 

राणाकालमा बनेको कारागारका ब्लक त्यतिबेला पूर्ण क्षतिग्रस्त बनेको जेलर दुलालले बताउनुभयो । यी दुई ब्लकमा रहेका कैदीबन्दीलाई भूकम्पपछि अस्थायी ब्लक बनाएर राखिएको थियो । ती अस्थायी संरचना पनि प्रयोग गरिरहन मिल्ने र नयाँ बन्ने ब्लकमा पनि कैदीबन्दी राख्दा यहाँ कैदीबन्दी राख्ने क्षमता अझै बढ्ने उहाँले बताउनुभयो । दुई वर्ष पहिलेसम्म ५०० को हाराहारीमा कैदीबन्दी रहेकामा अहिले यहाँ एक हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । 

कारागारमा एक वर्ष पहिले एउटा ब्लकको निर्माण सकिएर सञ्चालनमा आएको थियो । कारागारभित्रै मनोसामाजिक अस्पतालको निर्माण सकिएको छ र छिट्टै सञ्चालनको तयारी भइरहेको छ । 

लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तार २० प्रतिशत 

जिल्लाको सबैभन्दा व्यस्त सडकमा पर्ने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि यस सडकको काम रोकिएको थियो । अदालतले तत्काल काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले बताएको छ । अदालतको अर्काे आदेश नआउँदासम्म काम ठप्प नै भइरहने आयोजनाका इञ्जिनीयर विश्व विजयलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “ललितपुरका अरु चार ठाउँका सडक जस्तै यस ठाउँको सडक मुआब्जा विवादले गर्दा अघि बढ्न सकेको छैन ।” 

यो सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएका छन् । पटकपटक अनुरोध गर्दासमेत विद्युतीय संरचना नहट्दा बाधा पुगेको छ । स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन मानेका छैनन् । सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम नसकिएको आयोजनाले बताएको छ । 

यो सडकको निर्माण विसं २०७३ जेठमा शुरु भएको थियो । विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो । थपिएको अवधिमा काम अघि बढेको छैन । उहाँले भन्नुभयो, “ठेकेदारले ढिलाइ गरेरभन्दा पनि अदालतको निर्णयले काम अघि बढ्न नसकेको हो ।” ललितपुरमा पाँच वटा सडकमा विस्तारको काम मुआब्जाकै कारण ठप्प छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!