सहकारीमा महिलाको आकर्षण बढ्दो

Posted on: 17 Jan, 2019

सुशीला रेग्मी | माघ ३, बेझाड |  रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहार्नुभयो तर, कसैले पत्याएन । 

उहाँलाई छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन निकै कठिन थियो । कमाउने कोही नहुँदा आफन्त साथीभाई सबै टाढिए । गाउँमै रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुरमा उहाँ आबद्ध हुनुभयो । 

लघुवित्त कार्यक्रममा सहभागी भएपछि उहाँलाई सहकारीले व्यवसाय गर्न बिना धितो ऋण दियो । सहकारीबाट ऋण पाएपछि न्यौपानेले खुशी हुँदै जग्गा भाडामाा लिएर तरकारी र कुखुरापालन व्यवसाय शुरु गर्नुभयो । 

“सहकारीबाट ऋण लिएर शुरु गरेको व्यवसाय अहिले राम्रो आम्दानीको स्रोत बनेको छ, हामी गरीब बेसहारा किसानका लागि सहकारी बरदान नै सावित भएको छ,” उहाँले भन्नुभयो । 

उहाँले अहिले करीब सात रोपनी जग्गा भाडामा लिएर तरकारी खेती र कुखुरापालन व्यवसाय गरिरहनु भएको छ । यस व्यवसायबाट उहाँलाई अहिले वर्षमा चार लाख रुपैयाँ बराबरको आम्दानी हुन्छ । 

त्यस्तैगरी, अर्का कृषक टकादेवी भट्टराईको अवस्था पनि न्यौपानेको जस्तै थियो । उहाँ पनि व्यवसाय गर्नकै लागि ऋण झिक्न सहकारीमा पुग्नुभयो । बिना झण्झट बिना धितो ऋण पाएपछि उहाँले उत्साहित भएर तरकारी खेतीमा लगानी गर्नुभयो । 

भट्टराईले अहिले पाँच रोपनी जग्गामा विभिन्न मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर एक याममै रु तीन लाख बराबरको आम्दानी गरिरहनुभएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुँदै गएपछि उहाँले कुखुरापालन व्यवसाय पनि शुरु गर्नुभएको छ । 

उहाँले भन्नुभयो – “शुरुमा ऋण पाउन धेरै जनासँग हात जोडँें । रातदिन भौँतारिएँ तर, कसैले दिन मानेन । घर नजीकै सहकारी खुलेको थियो । त्यहाँ गएपछि सजिलैसँग ऋण पाइयो ।” सहकारी आफू जस्ते मानिसका लागि जीवन जिउने आधार बनेको उहाँको भनाइ छ । 

रामपुर नगरपालिका–७ बहखोला बस्ने उर्मिला रानालाई सहकारीले सहजै बिना धितो ऋण उपलब्ध गराएपछि होटल व्यवसायमा लगानी गर्नुभयो । आजभन्दा एक दशक अगाडि रु २० हजारको लगानीमा होटल व्यवसाय शुरु गर्नुभएका राना अहिले यो व्यवसायको कमाइबाट घरघडेरी जोड्न सफल हुनुभएको छ । 

रामपुर–५ सुन्दरटोल बस्ने लक्ष्मी रानाले सहकारीबाट झिकेको ऋणले भैंसी र गाईपालनमा लगानी गर्नुभएको छ । उहाँको फार्ममा हाल छ वटा उन्नत जातका भैसी, दुई वटा उन्नत जातका गाई छन् । उहाँ दैनिक पैंतिस लिटर दूध बिक्री बेचेर मासिक पैंतालिस हजार कमाइ गर्नुहुन्छ । उहाँले सहकारीबाट रु एक लाख रकम ऋण झिकेर पशुपालन व्यवसायमा लगानी गर्नुभएको हो । 

उहाँजस्ता धेरै महिला अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाबाट झिकेको रकम आयमूलक व्यवसायमा लगानी गरी आत्मनिर्भर बनेका छन् । सहकारीमा अहिले नौ हजार ४१३ जना शेयर सदस्य रहेका छन् । विसं २०६४ देखि शुरु भएको लघुवित्त कार्यक्रममा छ हजार ४८८ जना महिला सदस्य आबद्ध छन् । हाल सहकारीले दैनिक ७२ करोड रुपैयाँ बराबरको कारोबार गर्दैआएको छ । 

संस्थाले बिना धितो रु एक लाख ५० हजारसम्म र त्यो भन्दा माथि परियोजना हेरेर धितोमा रु नौ लाखसम्म व्यवसाय गर्न इच्छुकलाई ऋण प्रवाह गर्दै आइरहेको सहकारीका व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । 

सहकारीले पूर्वी पाल्पाका साविक २१ वटा गाउँ विकास समितिलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । सहकारीबाट ऋण झिक्नेमध्ये करीब ४० प्रतिशतले व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । सहकारीले नाफामुखी नभई बिशुद्ध जनताको हितमा काम गरिरहेको अध्यक्ष तीर्थप्रसाद पंगेनी बताउनुहुन्छ । 

“सदस्यहरुको वित्तीय आवश्यकतालाई पूरा गर्ने, गुणस्तरीय सहकारीको पहिचान स्थापित गर्ने, ंसंस्थाले लगानी गरेका व्यवसायलाई व्यावसातिक बनाउँदै लैजाने गरी काम गरिरहेको छ,” पंगेनीले भन्नुभयो । 

व्यवसाय गर्न चाहने महिलालाई सहुलियत दरमा बिना धितो ऋण सहकारीले उपलब्ध गराएपछि ग्रामीण भेगका महिलाहरु आयमूलक पेशा व्यवसायतर्फ उन्मुख भएका छन् । गाउँका गरीब, एकल, असहाय, दलित, विपन्न वर्गका महिलाहरुका निम्ति सहुलियत दरमा ऋण दिन थालेपछि सहकारीमा महिलाहरुको आकर्षण बढ्दो छ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!