शेयर बजार : दोहोरो अङ्कले घट्यो

Posted on: 21 Jan, 2019
माघ ७, काठमाण्डौ | धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ । 
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन् । 
आज कारोवार भएका कूल ११ उपसमूह मध्ये आज वित्त उपसमूह ०.६५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ४.६२, व्यापार २.९६, होटल १९.५२, विकास बैंक ७.७६, जलविद्युत् ४२.१७, निर्जीवन बीमा ४२.६७, उत्पादन २३.५२, अन्य ११.६०, लघुवित्त २५.५१ र जीवन बीमा ६१.६८ विन्दुले घटेको छ । 
घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी कमाएका छन् । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन् । 
त्यसैगरी स्टकमा आजै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवार सुरु भएको छ । सो संस्थाको सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम रु १६८ र अधिकतम रु ५०५ रहने गरी सीमा निर्धारण गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!