धुर्मुस सुन्तली फाउन्डेसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा, लागत ३ अर्ब लाग्ने

Posted on: 30 Jan, 2019

माघ १६, काठमाडौं । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको छ | धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको घोषणा गरेका हुन् ।

धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राखिने भएको छ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् । उक्त फाउन्डेसनले यसअघि चारवटा वस्ती निर्माण गरिसकेको छ । धुर्मुसले जनसहयोगबाटै भूकम्पपीडित, बाढी पिडित र मुसहरहरुका लागि नमूना वस्ती बनाएका थिए ।

रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ । अब गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको धुर्मुस बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!