सुन्तला उत्पादनबाट पर्वतमा छ करोड भित्रियो

Posted on: 31 Jan, 2019

लक्ष्मीप्रसाद सापकोटा | माघ १७ पर्वत । यो वर्ष पर्वतमा करीब रु छ करोड मूल्य बराबरको सुन्तला बिक्री भएका छन् । 

सुन्तला उत्पादनको पकेट क्षेत्र जलजला– १ बाँसखर्क, फलेवास नगरपालिका– १० कुर्घा र पाङ्राङ, मोदी गाउँपालिका– २ देउपुरमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । 

बाँसखर्कबाट रु साढे दुई करोड, देउपुरबाट रु एक करोड, फलेवासबाट रु एक करोड र महाशीला गाउँपालिकाबाट रु एक करोड मूल्य बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । 

गत वर्षको तुलनामा सुन्तलाको क्षेत्रफल विस्तार र मूल्य बढेका कारण यस वर्ष कृषकले राम्रो मूल्य पाएको कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो । जलजला गाउँपालिका–१ बाँसखर्कका २६१ घरमध्ये २०० बढी घरपरिवारले व्यावसायिक रूपमै सुन्तला खेती गरेका छन् । 

पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यवसायीकरण, सुन्तलामा लाग्ने रोग किराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायतका कारणले सुन्तला उत्पादन वर्षेनी बढ्दै गएको कृषक भक्तबहादुर पाइजाले बताउनुभयो । 

अहिले बोटमै रु १०० देखि १२० प्रतिकिलोको दरमा सुन्तला बिक्री भएको पाइजाले बताउनुभयो । देउपुरका करीब ७० परिवारका किसानले व्यावसायिक सुन्तला उत्पादन गर्छन् । अघिल्ला वर्षमा मङ्सिरमै सुन्तला बिक्री गर्ने देउपुरका किसानले यो वर्ष माघको पहिलो सातामा मात्रै सुन्तला टिपे । “यो सिजनमा देउपुरवासीले रु ७० देखि ९० प्रतिकिलोमा बिक्री गरेको अगुवा कृषक दाताराम चापागाईले जानकारी दिनुभयो । 

त्यस्तै फलेबास नगरपालिकाको पाङराङ, कुर्घा लगायतबाट समेत करीब रु एक करोड मूल्य बराबरको सुन्तला बिक्री भएको किसानले बताएका छन् । पाङराङका किसान ताराबहादुर मल्लका अनुसार कर्नास र पाङराङका करीब १०० परिवारले व्यावसायिक रूपमा सुन्तलाको खेती गर्दै आएका छन् । त्यस्तै महाशिला गाउँपालिका २, ३ र ४ का भोक्सिङ, पाखापानी र बालाकोटमा पनि यो वर्ष करीब रु एक करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । 

भोक्सिङका जितबहादुर गुरुङका अनुसार सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानले सुन्तला उत्पादक कृषि सहकारीसमेत स्थापना गरेका छन् । बाँसखर्कका किसानले बजारमारे सुन्तला उत्पादन सहकारी र देउपुरका किसानले माछापुछ्रे« सुन्तला उत्पादक कृषि सहकारी स्थापना गरेका छन् । 

उनीहरुले प्रतिकिलो रु दुईदेखि १० सम्म सहकारीका लागि छुट्याइने गरेको कृषकले बताए । त्यसवापत भएको आम्दानीबाट सुन्तलाखेती विस्तार, आवश्यक मेशिन र उपकरण खरीद तथा रोगकिराविरुद्धको उपचारमा खर्च गर्दै आएका छन् । सुन्तलाको खेती विस्तार गर्न चालु वर्षदेखि बाँसखर्क सुन्तला जोन क्षेत्रमा परको छ । 

बाँसखर्कसहित म्याग्दी र बागलुङका केही स्थानीय तह समेटिएको जोन एकाइ कार्यालयसमेत स्थापना भएको छ । कार्यालयका प्रमुख बमबहादुर थापाका अनुसार बाँसखर्कमा सुन्तलाको खेती विस्तार गर्ने कार्यक्रम यसै वर्षदेखि शुरु भएको छ । फलेवासको पाङराङ र कुर्घा, मोदी गाउँपालिका–२ देउपुर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट क्षेत्रमा समेटिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!