कालीगण्डकी करिडोरको दुई खण्डलाई २० करोड

Posted on: 01 Feb, 2019

सुवास गौतम | माघ १८, गलकोट  | राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका कालीगण्डकी करिडोरलाई थप व्यवस्थित गर्नका लागि रु २० करोड बजेट विनियोजन गरिएको छ । 

त्रिदेशीय सिधा सम्र्पकका लागि निर्माण थालिएको कालिगण्डकी करिडोरलाई १० मिटर कायम गर्ने उद्देश्यले बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

नेपालका दुई छिमेकी मुलुक उत्तरमा चीन र दक्षिण भारतलाई जोड्ने सबैभन्दा छोटो नाकाका रुपमा विकास गर्ने उद्देश्य राखिएको कालीगण्डकी करिडोरमा बजेट अभावका कारण पछिल्लो समय काम हुन सकेको थिएन । बजेट नभएका कारण बागलुङ खण्डमा करिडोरको काम अगाडि बढ्न नसकेको भन्दै निरन्तर पहलभएपछि सरकारले रु २० करोड बजेट विनियोजन गरिएको सांसद डा सूर्य पाठकले बताउनुभयो । 

रु २० करोडमध्ये रु १० करोडको काम बागलुङ खण्डमा र रु १० करोडको काम गुल्मी खण्डमा हुनेछ । राष्ट्रिय गौरवका आयोजनालाई छिटो पूरा गर्ने सरकारको प्राथमिकता भएका कारण बजेट पार्न सफल भएको सांसद पाठकले बताउनुभयो । 

आगामी चैतदेखि वैशाखसम्म काम सक्नेगरी नेपाली सेनाको निर्माण कार्यदललाई आग्रह गरिएको छ । अहिले तत्कालका लागि बागलुङ खण्डमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म १० मिटर सडक चौडा पार्ने कार्य हुनेछ । 

यो वर्ष सरकारले बजेट नदिएपछि बर्खाको पहिरोसमेत सेनाले आन्तरिक स्रोतबाट खर्च गरेर यातायात सञ्चालन गर्नसक्ने बनाएको थियो । लामो समयसम्म अगाडि बढ्न नसकेको कालीगण्डकी करिडोरको काम नेपाली सेनालाई जिम्मा दिएपछि तीव्रता पाएको थियो । बागलुङ खण्डमा पर्ने ३६ किलोमिटरसहित गुल्मीमा समेत गरी ८० किलोमिटर साधारण बाटो खोल्ने काम नेपाली सेनाले जिम्मा लिएको थियो । बागलुङ खण्डको ट्रयाक मात्रै खोल्नका लागि रु ३३ करोड बढी खर्च भएको छ । अहिले करिडोरअन्तर्गतको सबैजसो खोलामा बेलिब्रिज हालेको छ । 

बजेटको समस्या नभए दुई वर्षभित्र बागलुङ खण्ड कालोपत्रका लागि तयार हुने बताइएको छ । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दूरीको यो सडक आयोजना त्रिदेशीय व्यापार तथा पारवहनमा महत्वपूर्ण नाका बन्नेछ । चीनको कोरलादेखि भारतको सुनौलीसम्मको ४३५ किमीको यो छोटो दूरीको सडक आयोजना हो । यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारतसम्म जोड्नेछ । 

यो सडक आयोजनाले त्रिदेशीय व्यापार तथा पारवहनमा महत्व राख्ने हुँदा यसलाई थप व्यवस्थित बनाइ ट्रान्जिट रुटका रुपमा विकास गर्नुपर्ने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । 

बागलुङ खण्डअन्तर्गतको मालढुङ्गामा शनिबार १० मिटर चौडा पार्ने कार्यको शुभारम्भ अर्थमन्त्री डा युवराज खतिवडाले गर्ने कार्यक्रम छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!