टेलिकमको फोरजी सेवा विस्तारका लागि सम्झौता , ६५ लाख जनतामा उच्च गतिको डाटा

Posted on: 04 Feb, 2019

माघ २१, काठमाडौँ। नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि सम्झौता सम्पन्न भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो । 


फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्कको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो । नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । नेपालभर ६५ लाख क्षमताको फोरजी÷एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्यान नेटवर्क तयार गरिने छ। यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । 

र्यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ । नेपाल टेलिकमले मुलुक मै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी/एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई  ओभरलेको रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुनेछ । यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस सेवा विस्तार गर्न सकिने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!