बैंकिङ कारोवार गर्न नागरिकलाई झन्झट

Posted on: 07 Feb, 2019

माघ २४, बेझाड | पाल्पाका दश वटै स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । तर पनि सहजसँग नागरिकले अझै पनि बैंकिङ सेवाको सुविधा उपभोग गर्न पाइराखेका छैनन् । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय तह निकै विकट र दुर्गममा पर्छन् । भौगोलिक भूबनोट नमिलेका कारण स्थानीय तहमा बैंक पुगेको छ तर सहजसँग सेवा लिन नागरिकले नसकिरहेको अवस्था छ । पायक पर्ने ठाउँमा बैंक सञ्चालन नहुँदा अन्यत्र जानुपर्ने अवस्था छ । हुन त एक वटा बैंक पनि नभएको अवस्थामा बल्लतल्ल बैंक पुगेपछि नागरिकलाई केही राहत पुगेको छ । यसै आर्थिक वर्षमा निस्दी गाउँपालिकाको ढुङ्गानाबेसी गाउँमा सनराइज बैंक सञ्चालनमा आएको छ । 

गाउँपालिकाका सबै वडाका नागरिकलाई पायक नपर्ने भएपछि धेरै नागरिक अन्यत्र स्थानीय तहमा धाइरहेका छन् । सबै वडालाई पहुँच नपुगे पनि केही हदसम्म भए पनि बैंकिङ कारोवार गर्न सहज हुँदै गएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउनुहुन्छ । “गाउँपालिकाको क्षेत्र नमिलेकाले केही वडाका नागरिक भने रामपुर बजारमा जानुपर्ने बाध्यता छ, सकेसम्म वडा वडामा बैंक स्थापना गर्ने कोसिस गरिरहेका छौँ,” उहाँले भन्नुभयो । 

गाउँपालिकाभित्र बैंक आए पनि सेवा लिन आउन जान निकै झन्झट रहेको निस्दी गाउँपालिका–१ बाकामलाङका सामाजिक अभियानकर्मी शालिकराम पाण्डेले बताउनुभयो । “संरचना बन्दै गरेको छ, बिस्तारै गाउँगाउँमा बैंक आउला, अहिलेलाई करीब दुई घण्टाको समय गाडीमा यात्रा गरेर रामपुर नगरपालिकामा नै पुगेर सेवा लिँदै आइरहेका छौँ,” उहाँले भन्नुभयो । 

त्यस्तै रम्भा गाउँपालिका–१, २ र ३ का नागरिक डेढदेखि दुई घण्टाको समय लगाएर बगनासकाली गाउँपालिकाको आर्यभञ्ज्याङसम्म सेवा लिन जाने गर्छन् । गाउँपालिका–५ को ताहुँमा रहेको बैंकमा पायक नपरेपछि अन्यत्र स्थानीय तहमा रहेका बैंकमा सेवा लिनुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । 

“वडा नं ४ र ५ का नागरिकले ताहुँबाटै सहजसँग सेवा उपभोग गरिहेका छन् भने अब छिट्टै नै गाउँपालिकाको केन्द्र खोक्खोलामा बैंक स्थापना गर्ने तयारीमा छौँ, यसले वडा नं १, २ र ३ का नागरिकलाई बैंकको सुविधा पुग्नेछ,” अध्यक्ष भण्डारीले भन्नुभयो । बगनासकाली गाउँपालिकाको नौ वटा वडामध्ये वडा नं १, २, ३ र ४ का नागरिकले आर्यभन्ज्याङबाट बैंकिङ्ग सेवा लिइरहेका छन् भने बाँकी ५, ६, ७, ८ र ९ का नागरिकले जिल्ला सदरमुकाम तानसेन पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । 

केही विकट गाउँपालिकामा यसै आर्थिक वर्षमा बैंक सञ्चालनमा आएका छन् । सबै स्थानीय तहमा सरकारी बैंक पुग्न नसकेपछि निजी बैंक पुगेपछि केही हदसम्म भए पनि नागरिकलाई सुविधा पुगेको छ । संरचना नमिलेकाले आफ्नै स्थानीय तहबाट सेवा लिन नसकेको अवस्था छ । 

ज्येष्ठ नागरिकलाई परिचयपत्र 

पाल्पाको रम्भा गाउँपालिकाले एक हजार छ सय ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । चालु आवकोे साउनदेखि गाउँपालिकाभित्र रहेका ६० वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको हो । 

ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा नेपाल सरकारले तोकेअनुसारको सेवासुविधा गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । गाउँपालिकाले ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा, घरदेखि गाउँपालिकाको कार्यालयसम्म आवतजावतका लागि रकम उपलब्ध, सम्मानजस्ता कार्यक्रम गरिरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । “ज्येष्ठ नागरिकलाई समाजमा सम्मानपूर्वक जीवन व्यतित गराउन र उनीहरू समाजका अभिभावक भएकाले गाउँपालिकाले ज्येष्ठ नागरिकका निम्ति विभिन्न कार्यक्रम गर्दै जानेछ,” उहाँले भन्नुभयो । 

यस वर्ष गाउँपालिकाले ज्येष्ठ नागरिक शीर्षकमा रु सात लाख रकम विनियोजन गरेको छ । वडागत र गाउँपालिकास्तरीय ज्येष्ठ नागरिक समन्वय समिति पनि गठन भइसकेको छ । गाउँपालिकाले कार्यविधि बनाएर पारित गरेर त्यसैका आधारमा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने बताइएको छ । रम्भा गाउँपालिका–१ असेर्दीमा कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठानको सहकार्यमा ज्येष्ठ नागरिक प्रवचनालय भवन निर्माण हुँदैछ । सो भवन निर्माणका लागि गाउँपालिकाले चालुतर्फ रु छ लाख र पूँजीगततर्फ रु पाँच लाख गरी रु ११ लाख रकम छुट्याएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!