‘भ्यूटावर’ निर्माण गरिने

Posted on: 10 Feb, 2019

माघ २७, दार्चुला (रासस) | महाकाली नगरपालिका–१ छापरीमा पर्यटन प्रवद्र्धनको लागि दृश्यावलोकन स्तम्भ‘भ्यूटावर’ निर्माण गरिने भएको छ । चालू आर्थिक वर्षभित्रै भ्यूटावर निर्माणका लागि सर्भे गर्ने काम भएको महाकाली नगरपालिकाले जनाएको छ । 

जी फोर्स विल्र्डस एण्ड कन्सल्र्ट प्रालि काठमाडौँबाट आएको सर्वेक्षकको टिमले भ्यूटावर निर्माणका लागि सर्भे गरेको महाकाली नगरप्रमुख हंशराज भट्टले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भ्यूटावर निर्माण गरिन लागेको हो । 

पर्यटकीयस्थलको विकासका लागि नगरसभाबाट रु एक करोड ४० लाख बजेट विनियोजन गरिएकामा रु ४५ लाख भ्यूटावर निर्माणमा खर्च गरिने नगरप्रमुख भट्टले बताउनुभयो । 

समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको छापरीबाट दार्चुला जिल्लामा रहेको अपी हिमाललगायत उच्च हिमशृङ्खाल तथा भारतका हिमालय शृङ्खला सजिलै देख्न सकिन्छ । नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको विकास गरी आर्थिक रूपमा समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ पर्यटकीयस्थलको विकास गर्ने नगरपालिकाले जनाएको छ । 

यस्तै भ्यूटावरसँगै पर्यटकलाई लक्षित गर्दै सुविधासम्पन्न रेष्टुरेन्ट, पार्कलगायत पर्यटकलाई आकर्षण गराउने स्थल निर्माण हुनेछन् । यसैगरी नगरपालिकाले समैजी मन्दिर डुङुरीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने भएको छ । अहिले पनि नेपाली तथा भारतका स्थानीयवासीको धार्मिक पर्यटकीय गन्तव्य रहेको डुङुरी मन्दिरमा मङ्गलबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको रुपमा आउने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!