बैंक अनुदार र कठोर बनेकोप्रति संघ असन्तुष्ट

Posted on: 15 Feb, 2019

फागुन ३, सुर्खेत । बैंक तथा वित्तीय संस्थाहरु व्यापारी व्यवसाय विरुद्ध अनुदार र कठोर हुँदै गएको भन्दै सुर्खेतका व्यापारीहरुले तीव्र असन्तुष्टि जनाएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा विहीबार वीरेन्द्रनगरमा भएको बैंकसंगको अन्तरक्रिया कार्यक्रममा सहभागीले बैंकहरु कठोर बन्दा समेत राज्यका निकाय मूकदर्शक बनेको गुनासो गरेका पनि गरेका छन् ।

राज्यको अकर्मण्यताकै कारण व्यापारी व्यवसायी चौतर्फी चपेटामा पर्दै गएको भन्दै व्यापारीहरुले वित्तीय संस्थाहरु कठोर बने आपूmहरुपनि कठोर बन्ने चेतावनी दिए । संघका अध्यक्ष धनबहादुर रावतले सबैखाले आन्दोलन समाप्त गरेर आर्थिक समृद्धिको यात्रामा रहेका बेला बैंकहरुले व्यापारी व्यवसायीलाई फेरि आन्दोलनमा जान बाध्य बनाएको टिप्पणी गरे । बैंक र व्यापारी दुबैले व्यापार नै गर्ने भएको हुँदा दुबैको सम्बन्ध निरन्तर सुमधुर हुनुपर्नेमा जोड दिए । उनले आफूहरु व्यापार गरेर बस्न चाहेकले बैंक र वित्तिय संस्थाहरुले अनुदार र कठोर बनेकाले आन्दोलनमा जान बाध्य पारिएको उल्लेख गरे । नीजि क्षेत्र नै कुण्ठित र संकुचित हुने गरी बैंक ब्याज बढाएर मात्र दीर्घकालीन आर्थिक समृद्धि नहुने भन्दै अध्यक्ष रावतले अभिभावकका रुपमा रहेको राज्यले निजी क्षेत्रको पिरमर्कापनि बुझिदिनुपर्ने उल्लेख गरे । संघका महासचिव लक्ष्मण कंडेलले बैंकहरुले मुद्दति खातामा धेरै ब्याज दिने प्रलोभन देखाएर बैंकमा पैसा थुपार्दा त्यसको प्रत्यक्ष मारमा व्यापारी परेको दाबी गरे । बैंक र राज्यका ढुकुटीमा पैसा थुपारेर मात्र अर्थतन्त्र  नउकासिने भन्दै उनले अर्थतन्त्रलाई उकालो लगाउन चलायमान बनाउनुपर्ने आवश्यक्ता औंल्याए । 

संघका पूर्व महासचिव गोपालकृष्ण गिरीले बैंकहरुको संख्या बढेसंगै सेवासुविधा र सहुलियत वृद्धिमा होडबाजी हुनुपर्नेमा ब्याज वृद्धिमा प्रतिष्पर्धा भइरहेको भन्दै असन्तुष्टि पोखे । पूर्व उद्योग उपाध्यक्ष वासुदेव शर्माले चर्को ब्याजदरका कारण व्यापार व्यवसाय चौपट भए त्यसको असर बैंकलाई पनि पर्ने भन्दै एकअर्काको सुरक्षाको सवालमा दुबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यक्ता औंल्याए । कार्यक्रममा बैंकर्स एशोसियन सुर्खेतका अध्यक्ष पदम धानुकले व्यापारीले बेच्ने सामानको मूल्य समयक्रमसंगै बढेजस्तै बैंकको ब्यादरपनि समयसापेक्ष रुपमा बढिरहेको तर्क गरे । बैंकको ब्याजदर घटाउने बढाउने अधिकार शाखा प्रबन्धकलाई नभएको उल्लेख गर्दै व्यापारीका गुनासालाई माथिल्लो निकायसम्म पुर्याउने गरी माध्यमका रुपमा काम भने गर्न सकिने जिकिर गरे । ज्योति विकास बैंकका प्रबन्धक गंगाप्रसाद न्यौपानेले मिटर ब्याजको प्रलोभनमा बैंकभन्दा बाहिर अनौपचारिक आर्थिक ढंगले आर्थिक कारोवार सञ्चालन गरिएका कारण समस्या आएको तर्क गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!