सडक विस्तारमा अवरोध

Posted on: 15 Feb, 2019

फागुन ३, बेत्रावती | सडक विस्तारसँगै दाँयाबाँया पर्ने जग्गाको मुआब्जा रकम नपाएको भन्दै नुवाकोटको विदुर नगरपालिकास्थित विभिन्न वडाका बासिन्दाले निर्माणमा अवरोध पुर्याएका छन् । 

‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत विदुर नपा–१ र १० मा मुआब्जा निर्धारण नगरी सडक विस्तार अघि बढाएको भन्दै प्रभावित बासिन्दाले काम गर्न अवरोध गरेका हुन् । सडक विस्तार गर्न नदिएको भन्दै बिहीबार वडा नं–१० का वडाध्यक्ष गणेशकुमार नेपाल र वडा सदस्य विष्णुप्रसाद प्याकुरेलसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर गएराति छाडिदिएको छ । 

मुआब्जा निर्धारण नभई सडक विस्तार गर्न नदिने अडान राखेर काम गर्न नदिएपछि प्रहरीले नियन्त्रणमा लिएका बासिन्दा र आयोजना पक्षबीच छलफल भएपनि निष्कर्षबिहीन भएको छ । प्रभावित बासिन्दाले सडक विस्तारमा अवरोध कायम गर्ने बताएका छन् । 

योजनाअन्तर्गत सडकको दाँयाबाँया १५–१५ मिटरमा पर्ने साविक दुईपिपल, रातमाटे र जिलिङ गाविसको मुआब्जा निर्धारण भएर रकम वितरण भइरहेको र बाँकी स्थानमा निर्धारण नहुँदा स्थानीयवासीले निर्माणमा अवरोध गर्दै आएका छन् । मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरी स्थानीयवासीले जिल्ला बन्दसमेत गराएपनि मागको सुनुवाइ नभएको समितिका संयोजक लीलानाथ न्यौपानेले बताउनुभयो । 

उहाँले आफू विकास विरोधी नभएको तर कानूनले तोकेअनुसार मुआब्जा उपलब्ध हुुनुपर्ने मागको बेवास्था भएकाले निर्माणमा अवरोध गर्नुपरेको बताउनुभयो । आयोजना प्रमुख सुवोध देवकोटाका अनुसार पहिलो चरणमा दुईपिपल, रातमाटे र जिलिङको मुआब्जा निर्धारण भएको र दोस्रो चरणमा साविक गेर्खु गाविसको बान्द्रेदेखि बेत्रावती हुँदै मनकामनाको नयाँ पुलदेखि मैलुङसम्म सडकको दाँयाबाँया पर्ने जग्गाको मुआब्जा रकम निर्धारण गर्न लागिएको छ । बाँकी अन्य स्थानमा थप चरणमा निर्णय गर्दै अघि बढ्ने आयोजनाले जनाएको छ । 

चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणको लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक योजनामार्फत गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किमी सडकको निर्माण निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ । 

रसुवाको मैलुङदेखि स्याफ्रुबँेसीसम्म १८ किमी सडक नेपाली सेनामार्फत ट्र्याक खोलेर गत चैतमा आयोजनालाई हस्तान्तरण भएको थियो । स्याफ्रुबँेसीबाट रसुवागढीसम्मको १८ किमि सडक चीन सरकारमार्फत निर्माण अघि बढाउन थालिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!