दुर्गम गाउँको स्वास्थ्यचौकीमा सुविधासम्पन्न भवन निर्माण, मालिका जोड्ने सडक निर्माण शुरु

Posted on: 06 Mar, 2019

फागुन २२, म्याग्दी (रासस) | म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । 

शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले रु दुई करोड छ लाखको लगानीमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले पक्की भवन निर्माण गरेको हो । विसं २०७१ पुसदेखि शुरु भएको भवनको मङ्गलबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जग्गादाता सुखबहादुर तिलीजा पुनले उद्घाटन गर्नुभयो । भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख चाँदनी गुरुङले बताउनुभयो । 

यसअघि राम्चेस्थित सामुदायिक भवनको दुई साँघुरो कोठामा स्वास्थ्यचौकी सञ्चालन हुने गरेको थियो । नयाँ भवनमा प्रशासनिक, खोप, गर्भजाँच, क्षयरोग, परिवार नियोजन, ड्रेसिङ, स्वास्थ्य परीक्षण, नाम दर्ता, औषधि भण्डारण, औजार निर्मलीकरण, प्रसूति, औषधि वितरणलगायत ११ कोठा छन् । 

सभाहल र दुई परिवार कर्मचारीका लागि तीन÷तीन कोठा पनि छन् । स्वास्थ्यचौकीले इन्टरनेटको प्रयोग गरेर टेलिमेडिसीन सेवा पनि सञ्चालन गरेको छ । १८ महीनामा सम्पन्न गर्ने लक्ष्य भए पनि भौगोलिक विकटता, भूकम्प, नाकाबन्दी र प्रतिकूल मौसमका कारण ढिलाइ भएको निर्माण कम्पनी मृतक–सञ्जिवनीका प्रतिनिधि विनोद भट्टचनले बताउनुभयो । 

अपाङ्गमैत्री भवन निर्माणका लागि दुई परिवारले छ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराएको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । उद्घाटन समारोहमा दुई रोपनी १२ आना तीन पैसा तीन दाम जग्गा उपलब्ध गराएका सुखबहादुर तिलिजा र तीन रोपनी तीन आना तीन पैसा तीन दाम जग्गा उपलब्ध गराउनुभएका चन्द्रबहादुर तिलीजाका परिवारलाई सम्मान गरिएको थियो । 

उद्घाटन समारोहमा जिसस प्रमुख केसी, गाउँपालिकका अध्यक्ष डमबहादुर पुन, प्रजिअ लीलाधर अधिकारी, उपाध्यक्ष केशमाया मगरलगायतले भवनमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन गरेर प्रभावकारी सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो । राम्चे अन्नपूर्ण गाउँपालिकाको विकट बस्ती हो । 

मालिका जोड्ने सडक निर्माण शुरु 

म्याग्दीको धार्मिक पर्यटकीयस्थल मालिका धुरी जोड्ने सडक निर्माण शुरु भएको छ । यातायात सुविधामार्फत धार्मिक र आन्तरिक पर्यटक भित्र्याउन मालिका गाउँपालिकाले बिमको बाइन्दफाँट बिम्बाङ हुँदै मालिका जोड्ने सडक आयोजना शुरु गरेको हो । 

गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख बजेटबाट उपभोक्ता समितिमार्फत सडकको ट्र्याक खोल्ने काम शुरु गरिएको छ । गत वर्ष विनियोजन भएको रु आठ लाखबाट बाइन्दफाँटदेखि करीब दुई किलोमिटरमाथि बिम्वाङ पु¥याइएको थियो । 

यस वर्ष बिम्बाङको काउलेदेखि छ किलोमिटर दूरीमा रहेको धौलागङ्गा भन्ने ठाउँसम्म सडक पु¥याउने लक्ष्य राखिएको वडाध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । हालसम्म एक किलोमिटर ट्र्याक खुलिसकेको छ । अबको तीन महीनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ट्र्याक खोल्ने काम भइरहेको उपभोक्ता समितिले जनाएको छ । 

पहिलो चरणमै सात मिटर फराकिलो र प्राविधिकको सिफारिशअनुसार ग्रेड मिलाएर सडक खनिएको उपभोक्ता समितिका अध्यक्ष रैप्रसाद जुग्जालीले बताउनुभयो । भौगोलिक विकटता र बस्तीदेखि टाढाको जङ्गलमा सडक निर्माण गर्न समितिका पदाधिकारी पालो गरेर जङ्गलमै बास बसेका छन् । समुद्री सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित मालिकामा आन्तरिक पर्यटक र भक्तजन भित्र्याउने उद्देश्यले सडक निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडकले यातायात सुविधा सहज भएर भक्तजन सजिलैसँग मालिका जानआउन सक्ने विश्वास छ । 

ढिगो र प्रभावकारी बनाउन प्राविधिक अध्ययनबाट तयार पारिएको डिपिआरअनुसार वातावरण र भूगोल अनुकूलको सडक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । सडक पुग्ने ठाउँदेखि मालिका धुरीसम्म जोड्ने पदमार्ग र अन्य पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप रु १५ लाख विनियोजन गरेको छ । मालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम हो । 

मालिका गाउँपालिकाको ७ र ६ तथा रघुगङ्गा गाउँपालिका ६ को सिमानामा अवस्थित मालिका पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेल परेको छ । २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ४५ मध्ये गुर्जाबाहेकका ४४ वडा, लालीगुराँस, वन्यजन्तु, पक्षीहरुको अवलोकन गर्न सकिन्छ । 

सहज पदमार्ग, आवास, खानेपानीलगायत सुविधाको अभावका साथै प्रचारप्रसारको कामीले मालिकामा पर्यटक भित्रिन सकेका छैनन् । मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका मन्दिरमा भाकल पूरा भएमा बोका र परेवाको बली चढाउने चलन छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!