कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’, रोबर्टबाट उद्घाटन हुने

Posted on: 07 Mar, 2019

फागुन २३, सुर्खेत (रासस) | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो । 

‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री र पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न मेलाको आयोजना गरिएको क्यान महासङ्घका कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिनुभयो । 

“मेलाले कर्णाली प्रदेशको ‘डिजिटल कर्णाली’ बनाउने अवधारणा र लक्ष्य परिपूर्ति दुवैमा सहयोग पुर्याउने हामीले अपेक्षा राखेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “मेलामा स्मार्ट पर्यटनलाई पनि जोड दिइएको छ ।” सूचना र प्रविधिमा आएका नवीनतम उत्पादनलाई मेलामा प्रदर्शन गरिने उहाँको भनाइ थियो । 

सूचना तथा सञ्चार प्रविधिको बृहत् प्रदर्शनी हुने ‘क्यान इन्फोटेक मेला’ रोबर्टबाट उद्घाटन हुने क्यान महासङ्घका सुर्खेत अध्यक्ष प्रेमप्रकाश चन्दले जनाउनुभयो । अध्यक्ष चन्दले आइटी सेमिनार, नेपाली वैज्ञानिकले निर्माण गरेको रोबर्टलगायत विभिन्न प्रविधिजन्य सामग्री तथा उपकरणको प्रदर्शन हुने बताउनुभयो । 

“इन्फोटेक मेलाभित्र आइसिटी कन्फ्रेन्स, आइसिटी वर्कसपहरु, डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषय सेमिनार सञ्चालन हुनेछन्”, अध्यक्ष चन्दले भन्नुभयो, “त्यस अवधिभर कम्प्युटर, ल्यापटप र प्रिन्टरको निःशुल्क मर्मत सेवाका साथै सामान खरीदमा पाँचदेखि ५० प्रतिशतसम्म छुट दिइने र टाइपिङ प्रतिस्पर्धासमेत गराइनेछ ।” 

त्यसैगरी, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, हरेक दिन लक्की ‘ड्र’ बाट एकलाई ‘रारा भिजिट’, १० लाई एन्टिभाइरस निःशुल्क उपलब्ध गराइने जनाइएको छ । मेलाले समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग पुग्ने र यहाँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्या–पर्यटनको प्रवद्र्धन हुने विश्वास गरिएको क्यान महासङ्घले जनाएको छ । 

इन्फोटेक मेला फागुन २४–२८ गते पाँच दिनसम्म सञ्चालन हुनेछ । कर्णालीमा पहिलोपटक आयोजना हुनलागेको सूचना, सञ्चार प्रविधिको यो ठूलो प्रदर्शनीमा १० वटै जिल्ला गरेर एक लाख दर्शकले अवलोकन गर्ने र रु ३६ लाखको कारोबार हुने आयोजकले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!