धोवाघाटमा मोटर पुग्दा स्थानीयवासी खुशी

Posted on: 09 Mar, 2019

फागुन २५, लमही | दाङको विकट क्षेत्र बबई गाउँपालिका–१ स्थित धोवाघाटमा पहलोपटक मोटरबाटो पुगेको छ । वडा नं १ को पुरन्धारा छहरा–मलैखोला–जिला–सिमलकुना हुँदै धोवाघाट जोड्ने सडकमा नियमित गाडी गुड्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ । “यो भन्दा पहिले मोटरबाटो पुगेको थिएन”, स्थानीयवासी बमबहादुर केसीले भन्नुभयो, “अहिले मोटरबाटो पुग्दा आवतजावतमा सहज भएको छ ।” 

यसअघि सडक नहुँदा मान्छेले हापुरे बजारबाट सामान बोकेरै घरसम्म लैजानुपर्ने बाध्यता भएकामा अहिले भने सहज भएको उहाँको भनाइ थियो । हापुरेबजारबाट सात घण्टा हिँडेर पुगिने भए पनि अब भने एक घण्टामै आवतजावत गर्न सकिने भएको छ । अब साना गाडी, मोटरसाइलक आवतजावत गर्न सहज भएको उहाँको भनाइ थियो । सडक खुलेसँगै स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य वस्तुलाई बजारसम्म ल्याउन पनि सहज भएको छ । 

गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले उक्त सडकमा नियमित सवारीसाधन सञ्चालन गर्ने वातावरण सिर्जना गर्नका लागि बबई नदीमा पुल निर्माण गर्न प्रदेश सरकारसँग आग्रह गर्ने जानकारी दिनुभयो । “हामीले पहिलोपटक यस गाउँपालिकाको विकट क्षेत्रमा सडक पुर्याउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “अब यी सडक स्तोरन्नतिका लागि पहल गर्नेछु ।” चुनावको समयमा आफूले गाडी पुर्याउने प्रतिबद्धता पूरा गर्न लागेको उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!