अछामका १० वटै स्थानीय तहमा बैंक स्थापना

Posted on: 12 Mar, 2019

कमल रावल । फागुन २८, अछाम । अछामको चौरपाटी गाउँपालिकामा बैंकको शाखा स्थापना भएसंगै अछामका १० वटै तहमा बैंक स्थापना भएका छन् । देश संघीयतामा गएर स्थानीय तह अधिकार सम्पन्न भएसंगै सबै स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारको लक्ष्य अनुसार जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापनाको कार्य पूरा भएको हो । 


जिल्लाको चौरपाटी गाउँपालिकामा एक कार्यक्रमका वीच सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बैंकको उद्धघाटन गर्नुभयो । सेन्चुरी बैंकका केन्द्रीय अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बैंकको उद्धघाटन गर्दै मन्त्री बोहराले जिल्लाका सबै स्थानीय तहमा अब बैंक स्थापनाको कार्य पूरा भएको र नागरिकलाई सहज सेवा दिन आग्रह गर्नुभयो । आफुले पनि जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापनाका लागि भूमिका खेलेको भन्दै जिल्लाका अन्य विकास निर्माणका कार्यमा पनि आफु सधैँ अग्रसर हुने बताउनु भयो । कार्यक्रमका बिशिष्ठ अथिति गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले बैंक स्थापना गरेकोमा धन्यवाद दिँदै बैंकले अब स्थानीयमा आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गर्नुभयो । बैंकलाई स्थानीयका लागि आय आर्जन तथा उद्यम गर्नका लागि समेत सहयोग गर्न आग्रह गर्नुभयो । 

अछामका १० स्थानीय तह मध्ये नगरपालिका घोषणा हुन भन्दा पहिले नै जिल्लाका मंगलसैन नगरपालिका र साँफेबगर नगरपालिकामा बैंक स्थापना भैसकेका थिए । जस अनुसार मंगलसैनमा बाणिज्य, कृषि, महालक्ष्मी र जनता बैंक तथा साँफेबगरमा कृषि विकास बैंक रहेका थिए । हाल ती नगरपालिकामा अन्य बैंक समेत स्थापना भैसकेका छन् । यस्तै कमलबजार नगरपालिकामा प्रभु बैंक तथा पञ्चदेवल विनायक नगरपालिकामा माछापुच्छ्रे बैंक स्थापना भई सेवा प्रवाह भैरहेको छ । ६ वटा गाउँपालिकाहरुमा समेत बैंकिङ सेवा पूरा भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकामा नविल बैंक, ढकारी गाउँपालिकामा सिटीजन बैंक तथा रामारोशन गाउँपालिकामा नविल बैंकका शाखा स्थापना भई बैंकिङ कारोबार भैरहेको छ । 

यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा सिभिल बैंक, मेल्लेख गाउँपालिकामा सेञ्चुरी बैंक र चौरपाटी गाउँपालिकामा सेन्चुरी बैंकको शाखा स्थापना भएका छन् । बैंकका शाखा ग्रामिण तहमा गएसंगै स्थानीयलाई बैंकिङ सेवा सहज रुपमा पाउन थालेका छन् । बैंकिङ कार्यका लागि बाहिर जानुपर्ने बाध्यता समेत हटेको स्थानीयको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!