बुटवलको व्यस्त बाइपास सडकमा नयाँ पुल बन्ने, नगर प्रमुखद्वारा शिलान्यास

Posted on: 12 Mar, 2019

फागुन २८, खस्यौली (रासस) | बुटवलको व्यस्त बाइपास सडकको तीनकुने नजिकैको सोह्र–छत्तीस नहरमा नयाँ पुल बन्ने भएको छ । 

बुटवल उपमहानगरपालिकाले साँघुरो र कमजोर बन्दै गएको पुल हटाएर फुटपाथसहित दुई लेनको बनाउन लागेको हो । सबैभन्दा ठूलो जनसङ्ख्या रहेको वडा नं ११ र ९ लाई जोड्ने उक्त पुलको नगर प्रमुख शिवराज सुवेदीले आज शिलान्यास गर्नुभयो । 

पुल निर्माणका लागि बाबुल–दिब्या जेभी कम्पनीसँग हालै सम्झौता भएको र आगामी असारमा निर्माण सक्ने लक्ष्य रहेको उपमहानगरका योजना प्रमुख इञ्जिनीयर सुमन श्रेष्ठले जानकारी दिनुभयो । उक्त पुलको रु एक करोड ४० लाख २४ हजार ३८६ मा ठेक्का सम्झौता भएको थियो । 

उपप्रमुख गुमादेवी आचार्य, वडा नं ९ का अध्यक्ष विष्णुबहादुर थापा, ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा सचिव टीका भण्डारीलगायतले समयमै निर्माण कार्य सक्न आग्रह गर्नुभयो । उपमहानगरले कालिका पथ र श्रवणपथलाई आन्तरिक बाइपासका महत्वपूर्ण सडकका रुपमा स्तरोन्नति गर्न लागिरहेको छ । 

श्रवणपथअन्तर्गतकै हिलपार्क गेट नजिकैको सुखौरा खोलामा पनि अर्को पुल निर्माण भइरहेको छ । आन्तरिक बाइपासका सडकलाई बुटवलको चक्रपथमा जोड्ने गरी निर्माण कार्यका योजना बनिरहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । बुटवल उपमहानगरले १९ वटै वडालाई सडक सञ्जाल पुर्याउँदै त्यसैमार्फत छिमेकका अरु पालिकासँग जोड्नेगरि योजना बनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!