आठ करोडको लागतमा खानेपानी योजना

Posted on: 21 Mar, 2019

चैत ७, कावासोती | नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ । 

खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको बजेटमार्फत खानेपानीको योजना शुरु गरिएको हो । 

‘मैनाघाट खानेपानी योजना’ अन्तर्गत मैनाघाटमा डिप बोरिङ निर्माणको काम सम्पन्न गरिएको छ । १३५ मिटरको गहिराईबाट भूमिगत पानि निकालिएको वडाध्यक्ष अजुर्न पगेंनीले जानकारी दिनुभयो । अब खानेपानी वितरणका लागि अन्य ओभरहेड ट्याङ्की निर्माण, पाइप विस्तार, लगायतका कार्य गरिने उहाँले जानकारी दिनुभयो । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दमौली गण्डकी प्रदेशको रु सात करोड ९१ लाखको लागतमा योजना शुरु गरिएको हो । केन्द्र सरकारले समेत केही बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । 

दुई वर्षमा योजना सम्पन्न गर्ने गरी काम गरिएको हो । योजना सम्पन्न भएसँगै खानेपानीको समस्या झेल्दै आएका मैनाघाट, दुवाकुन, मगरसिंगालगायत करीब ५०० घरपरिवार लाभान्वित हुने वडाध्यक्ष पगेंनीले जानकारी दिनुभयो । 

सत्र सय हेक्टरमा चैते धान रोपाइ 

नवलपुरमा एक हजार ७७५ हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइ भएको छ । 

केही छिटफुट स्थानमा बाहेक नवलपुरका सबै पकेट क्षेत्रमा चैते धान रोपाइ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपुर चैते धानको पकेट क्षेत्र मानिन्छ । यहाँ असारेभन्दा चैते धान खेती राम्रो हुने केन्द्रले जनाएको छ । 

गैडाकोट, अमरापुरी, देवचुली, कावासोती, मध्यविन्दु, कुमारवर्ती, अरुणखोला, रजहर, चिलाहा, रतौल, मगरकोट, पिठौली लगायतका क्षेत्रमा चैते धानको राम्रो उत्पादन हुन्छ । यस्तै जिल्लाको पहाडी क्षेत्र बुलिंटार, डेढगाउँमा समेत चैते धान खेती राम्रो हुन्छ । 

चैते धान खेती हुने यी स्थानहरुमा सिमसार क्षेत्र भएकाले सिँचाइ नभए पनि धानको उत्पादन राम्रो हुने गरेको छ । गतवर्ष पनि एक हजार ७७० हेक्टर क्षेत्रफमा चैते धान रोपिएको थियो भने सात हजार २९९ मेट्रिक्टन धान उत्पादन भएको थियो । 

जिल्लामा चैते धान दुई, चैते धान तीन, चैते धान चार, सिएच ४५, हर्दिनाथ जस्ता जातका धान लगाइने गरिएको छ । चैते धानमा असारे धान जस्तो रोग र किरा नलाग्ने साथै फल पनि बढी लाग्ने हँुदा उत्पादन पनि राम्रो हुने गरेको कृषि प्राविधिक नरेन्द्र भण्डारीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!