रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै

Posted on: 09 Apr, 2019

चैत २६, काठमाडौँ– जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब ५४ करोड बढीको साधारण शेयर बिक्री गर्न लागेको हो ।

ती कम्पनीले आज छुट्टा–छुट्टै आह्वानपत्र सार्वजनिक गरी साधारण शेयरमा आवेदन दिन लगानीकर्तालाई आग्रह गरेका हुन् । सूचनाअनुसार रसुवागढीले रु एक अर्ब अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो ।

त्यसमा चार लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी र पाँच लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । उक्त आधारमा सर्वसाधारणका लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर बिक्री गरिनेछ ।  

यस्तै सान्जेनले रु ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्नेछ । त्यसमा दुई लाख ७३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोष र दुई लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याई ४९ लाख ८२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको आज प्रकाशित सूचनामा उल्लेख छ ।

बिक्री बन्द छिटोमा आगामी वैशाख १० गतेसम्म र पहिलो चरणमा बिक्री नभए आगामी जेठ ५ गतेसम्म हुनेछ । सर्वसाधारण शेयरधनीले दुवै आयोजनामा न्यूनतम ५० कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै रसुवागढी जलविद्युत्को आइपिओमा अधिकतम पाँच हजार कित्ता र सान्जेन जलविद्युत्को शेयरमा अधिकतम दुई हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था छ ।

प्राथमिक शेयरमा आवदेन दिनका लागि नेपाल धितोपत्र बोर्डले आस्वा सुविधा प्रदान गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमा खाता हुनेले अनलाइनमार्फत आवदेन दिन सक्ने व्यवस्था छ । आयोजनाको संस्थापक शेयरधनीमा चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरणलगायत छन् । संस्थापकतर्फको शेयरपूँजी ५१ प्रतिशत र सर्वसाधारणतर्फको शेयरपूँजी ४९ प्रतिशत छ । 

सरकारले यही चैत १८ गते मात्रै ती आयोजनालाई जनताको जलविद्युत् आयोजनामा समावेश गरेको हो । जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई सोही कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको थियो । नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीलाई यही चैत १० गते सर्वसाधारणलाई शेयर बिक्रीको स्वीकृति दिइसकेको छ । रसुवामा निर्माणाधीन  साञ्जेनका दुई आयोजना छन् । 

माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट तथा साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ । रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । ती आयोजनाको भौतिक प्रगति औसतमा करीब ७० प्रतिशतको हाराहारीमा छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कूल १९ आयोजना छनोट गरी तीन हजार ५०० मेगावाट क्षमता बराबरको आयोजना निर्माणका लागि नागरिकबाट स्वपूँजीको ४९ प्रतिशत शेयर जुटाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार यही चैत ७ देखि ११ गतेसम्म माथिल्लो त्रिशूली थ्रीबी जलविद्युत् आयोजनाको शेयर बिक्री भई बाँडफाँट भइसकेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत लगाताररुपमा शेयर बिक्री गर्ने निर्णयअनुसार नै दोस्रो चरणमा साधारण शेयर बिक्रीको तयारीमा रहेका रसुवागढी र साञ्जेनलाई समावेश गरिएको हो । ती दुई चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!