सरकारी जग्गा हडप्नेहरुप्रति स्थानीय निकाय किन कठोर बन्न सक्दैनन् ? (स्थलगत भिडियो)

Posted on: 10 Apr, 2019

अनिल अधिकारी | चैत २७, काठमाडौँ | काठमाडौँ लगायत प्रमुख सहरहरुमा ठूला संरचनामा बनेको होटल, हाउजिङ तथा अन्यले व्यवसायिक तथा व्यक्तिगत तवरबाट सरकारी जग्गाहरु हडप्ने क्रम जारी छ । स्थानीय तहहरु सक्रिय बनेपछी झन्डै दुई बर्ष पुग्न लाग्दा समेत अधिकांश स्थानीय तहहरुलाई हडपिएका सरकारी जग्गा तथा खोला/कुलो संरचनाले छुने र मापदण्ड लाग्ने जग्गाहरु छुट्ट्याउन हम्मे-हम्मे पर्ने देखिएको छ ।

सार्वजनिक सम्पत्तिलाई गैरकानूनी रुपमा व्यक्ति/व्यवसायिक नाममा दर्ता गर्नेदेखि अनाधिकृत तवरले उपयोग गरिदा त्यसको प्रत्यक्ष असर सिंगो देश बिकासमा समेत पर्ने देखिन्छ । जुन काममा नापी कार्यालयका कर्मचारीदेखि स्थानीय जनप्रतिनिधि तथा स्थानीय सरकारका कर्मचारीको समेत मिलिमतो हुने आरोप लाग्ने गरेको छ । 

त्यसो त प्रधानमन्त्री निवास बालुवाटारको जग्गा समेत भूमाफियाहरुले व्यक्तिका नाममा गरेको खुलाशा भईरहेको बेला देशभरी अन्य स्थानका जग्गा-जमिन कतिसम्म अनाधिकृत तरिकाले प्रयोग भईरहेका छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । 

बेथिति सहिरहंदा वा चुप लागेर बस्दा त्यसको प्रभावले सिंगो स्थानीय तह तथा देशको बिकासमा निरन्तर बाधा पुग्ने देखिन्छ । स्थानीय तहमा जनप्रतिनिधि चुनिएर कार्यरत रहँदा कतिपय ठाउँमा जन-प्रतिनिधिलाईनै प्रभावमा पारेर सरकारी जग्गा उपभोगमा होल्ड गर्ने, हडप्ने, आफ्नै नाममा बनाउने वा कार्यान्वयनमा फितलो देखिने जस्ता बिभिन्न क्रियाकलाप भईरहेका छन् । यस्तो अवस्थामा सम्बन्धित निकाय मौन बसिदिँदा त्यसै सानो बिषयको प्रभावले सिङ्गो स्थानीय तहमै काम-कारवाही गर्नको लागि समस्या देखिने गरेको छ । एउटा जनप्रतिनिधिलाई प्रभावमा पारेर वा जनप्रतिनिधिहरुले नै वेवास्था गरिदिँदा त्यसैको प्रभावले अन्य ठाउँमा समेत सरकारी जग्गा हडप्नेलाई कारवाही गर्न अफ्ट्यारो पर्ने देखिन्छ ।

माथिको तश्वीरमा: काठमाडौँको बुढानीलकण्ठ नगरपालिका स्थित पार्क भिलेज होटलले २० बर्षदेखि उपभोग गर्दै गरेको राजकुलो र राजकुलोकै माथि बनाइएको सरचनाहरु । (यस बिषयमा भिडियोमा पुरा रिपोर्ट हेर्न सकिन्छ)

हामीले यसै बिषयलाई उठान गर्दै एउटा प्रतिनिधि रिपोर्ट तयार पारेका छौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका स्थित वार्ड नम्बर ३ र ५ मा पर्ने परिचित होटल व्यवसायी कर्ण साक्यको होटलले २० बर्षदेखि सरकारी मापदण्ड मिचेर राजकुलो उपभोग गरिरहेको भेटिएको छ भने वार्ड नम्बर ५ स्थीत रोड सो हाउजिङले विष्णुमति करिडोरको मापदण्ड मिचेर संरचना बनाइरहेको तर नजिकै रहेको स्थानीय तहलाई अत्तोपत्तो नभएको भेटिएको छ ।

माथिको तश्वीरमा: बुढानीलकण्ठ नगरपालिका ५ स्थित रोड सो  हाउजिङले सरकारी मापदण्ड मिचेर विष्णुमति करिडोरको २० मिटर हुनुपर्ने संरचना ४ मिटरमा सिमित राखेर बनाएको सडक । 

हाउजिङले २० मिटर चौडा मापदण्ड छाडेर मात्र संरचना निर्माण गर्नुपर्नेमा जम्मा ४ मिटर मात्र छाडेर आफ्नो हाउजिङ मापदण्ड पुरा गर्न खोजेको र आफूले बनाएको संरचनाबारे स्थानीय निकायमा समेत कुनै जानकारी नदिएको भेटिएको छ । यसै सम्बन्धमा जिम्मेवार जनप्रतिनिधिहरुसँग हामीले सम्बन्धित पार्क भिलेज होटलमै पुगेर स्थलगत रिपोर्टीङ सहित जवाफ लिएका छौं । 

यस सम्बन्धमा स्थानीय जनप्रतिनिधिहरुले १ बर्षभीत्र स्थानीय मापदण्ड निर्धारण गरेर आवश्यक कारवाही गर्ने साझा सबाललाई जानकारी दिएका छन् । भिडियोमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, सोहि नगरपालिका वार्ड नम्वर ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, वार्ड नम्बर ५ का वडाध्यक्ष विजय तामाङ र पार्क भिलेजका प्रतिनिधि सागर साक्यसँग गरिएको कुराकानी सहितको स्थलगत रिपोर्ट तल भिडियोमा हेर्न सकिन्छ । हामी यस बिषयमा नियमित फलोअप गर्नेछौं । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!