हिमाल आरोहण गर्ने आरोहीको ओहिरो: ४८ करोड बढी रोयल्टी

Posted on: 22 Apr, 2019

सिवी अधिकारी, बैशाख ९, काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको सङ्ख्या ९३ पुगेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि ९३ समूहबाट ७७८ जना आरोही गएका छन् ।

सो आरोही समूहबाट हालसम्म ४८ करोड ३० लाख ४४ हजार ८४२ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । यीमध्ये सगरमाथाबाट मात्रै ४३ करोड ५२ लाख ५५ हजार ९१२ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि मात्रै ३३ आरोही समूहका ३६२ आरोही छन् ।

त्यसैगरी ल्होत्सेका नौ आरोही समूहका ७७ आरोही छन् । अमादब्लमका लागि पाँच आरोही समूहका ४९ आरोही र कञ्चनजङ्गा आरोहणका लागि पाँच आरोही समूहका ३२ आरोही गएका छन् । त्यस्तै मकालुका लागि चार आरोही समूहका ५३ आरोही गएका छन् । अन्नपूर्णमा तीन र धौलागिरि हिमाल आरोहणका लागि तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।

सगरमाथामा कुन देशका कति आरोही 

वसन्त ऋतुको यो याममा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ३७५ आरोही छन् । ती आरोहीमध्ये २९९ पुरुष र ७६ महिला छन् । सबैभन्दा बढी भारतबाट ७५, संयुक्त राज्य अमेरिकाबाट ७४ र चीनबाट ६० आरोही सगरमाथा आरोहणमा गएका छन् ।

त्यस्तै, संयुक्त अधिराज्य बेलायतबाट ४३, नेपालबाट १३, नर्वे र क्यानाडाबाट समान आठ र जापान र लेवनानबाट समान आठ तथा ब्राजिल, नर्वे र अर्जेन्टिनाबाट समान पाँच जना आरोही रहेका छन् ।

सगरमाथा आरोहणमा जाने महिलातर्फ सबैभन्दा धेरै चीनबाट २० र भारतबाट १८ जना छन् । पुरुषतर्फ अमेरिकाबाट ७०, भारतबाट ५७ र चीनबाट ४० सबैभन्दा धेरै आरोही रहेका छन् । वैशाख महीनाभर जसो आरोही आउने भएकाले यो सङ्ख्या अझै बढ्ने विमागले अनुमान गरेको छ ।

रोयल्टी बढी उढ्यो 

अघिल्लो वर्ष (सन् २०१८ को) वसन्त ऋतुको तुलनामा यो याममा हिमाल आरोहणबाट रोयल्टी रकम बढी जम्मा भएको छ । यो मौसममा आरोही आउने क्रम जारी रहेको हालसम्मको अवधिमै ४८ करोडभन्दा बढी रोयल्टी जम्मा भइसकेको छ ।

अघिल्लो वर्षको सोही याममा सगरमाथासहितका हिमालबाट ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो । सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो ।

सन् २०१८ को यही मौसम (वसन्त ऋतु)मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । मुलुकको पर्यटनमा महत्वपूर्ण आधार पर्वतीय पर्यटन हो । राजश्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ । 

संसारका ओरीहीको उत्कृष्ठ रोजाइमा सगरमाथासहितका हिमाल पर्छन् । त्यसैले हरेक वर्ष विभिन्न मुलुकका आरोही उल्लेख्य सङ्ख्यामा आरोहणका लागि नेपाल आउने गर्छन् । पर्वतारोहण आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमालमध्ये नेपालमा आठ वटा हिमाल पर्दछन् । 

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रुपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् । 

सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर तिर्नुपर्छ भने नेपाली नागरिकले रु ७५ हजार रोयल्टी बुझाउनुपर्छ । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल एक हजार ३०० भन्दा बढी रहेको बताइन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!