सडक खन्दा पुलको काममा बाधा

Posted on: 27 Apr, 2019

चिसाङ शेर्पा । बैशाख १४, खोटाङ । झोलुङगे पुल निर्माण भइरहेको स्थानमा माथिवाट सडक खनिएपछि पुल निर्माणमा बाधा पुगेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र उदयपुरको वलम्ता विचमा पर्ने सुनकोशी नदीमा निर्माण भईरहेको झोलुङगे पुल निर्माणमा बाधा पुगेको हो । माथिबाट सडक खनिएपछि ढुंगा माटोले पुल बन्ने स्थानको संरचना नै पुरेको छ । 

गत वर्षको पुस १७ गतेबाट रुजन के निर्माण सेवाले १ करोड ३० लाखमा पुलको काम थालेको थियो । पुलका लागि राजापानी साईडमा फण्डिसनको काम भईरहेको भएता पनि माथिबाट सडक खन्दा ढुंगा माटो झरेर फण्डिसन पुरिएको र भिरालो भएर साईडमा गएर काम गर्न सकिने स्थिती नभएको कन्ट्रयाक्टर पेशल कुमार राईले बताए । संसदीय कोषको बजेटबाट निर्माण भईरहेको सडकको ढुंगा, माटो साईडमा आएर काम गर्ने स्थिती नहुंदा १ महिना २३ दिन काम बन्द भयो । उनले भने, काम गरौ गर्न सकिने अवस्था छैन । सडक खनेकै कारण कुनै पनि वेला पहरा खस्ने खतरा छ । कसरी काम गर्ने ।’ 

काममा बाधा पुगेपछि १८ महिनामा सकिनु पर्ने २ सय ८७ मिटर लम्बाईको पुलको काम सम्झौता अवधिमा निर्माण नहुने भएकोे छ । सडक खन्दै जादा बचाउने प्रयत्न गरिए पनि केही मात्रामा ढुंगो माटो खसेको रेग्मीटार भाडबेशी धितुङ हलेसी सडक निर्माण उपभोक्ता समिति अध्यक्ष कुमार वुढाथोकीले बताए । खाशै ठूलो समस्या हैन । अलिअलि माटो झरेको छ । प्राविधिकलाई नाप्न लगाए वजेट पनि छुटाई दिने निर्णय गरेका छौ । उनले भने ‘वास्तविक समस्यालाई समाधान हुने वजेट दिनेछौ ।’ पुल र सडकको काम लगभग सँगसँगै भएकाले केही मात्रामा धुलो झरेको अध्यक्ष वुढाथोकीले सुनाए । संसदीय कोषको ५० लाख बजेटबाट सो सडक निर्माण भइरहेको हो ।

सडक खन्दा पुल बन्ने स्थान पुरिएर अलिअलि बनेको संरचना नै मेटिएकोे हलेसी तुवाचुङ नगरपालिकाकी नगर उपप्रमुख बिमला राईले बताईन् । सडक खन्नु अघि पुलको कामको मुल्याङकन, अथवा अगाडी पछाडी गर्नुपर्ने थियो । तर काम गर्दै गरेको अवस्थामा माथिबाट सडक खनेर पुरिसकेपछि समस्या चाहिं आएकै हो । उपप्रमुख राईले भनिन्, ‘दुवैजना ठेकेदार भएकाले समन्वय गरेर समाधान गर्नुपर्छ ।’ यसवारेमा आफूलाई जानकारी नभएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!