महिला र पुरुष: संविधानमा समान, ज्यालामा चरम विभेद

Posted on: 29 Apr, 2019

रमेश लम्साल ।  वैशाख १६, काठमाडौँ  ।  नेपालको संविधानले महिला र पुरुषलाई समान हैसियत प्रदान गरेको छ । जनसङ्ख्याका आधारमा हेर्ने हो भने पनि पुरुषको तुलनामा महिलाको सङ्ख्या नै बढी रहेको छ । तर तलब तथा ज्यालामा भने महिला र पुरुषको बीचमा ठूलो खाडल रहेको पाइएको छ । 

केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको ‘ नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४÷७५ को नतिजामा’ उल्लेख गरिएअनुसार महिला र पुरुषबीचको ज्यालामा असमानता रहेको पाइएको हो । रोजगारमा रहेका र तलब ज्याला प्राप्त गर्नेको औसत मासिक आम्दानी रु १७ हजार ८०९ रहेको छ । औसतमा उक्त परिमाणको तलब तथा ज्याला भए पनि पुरुषको औसत आम्दानी रु १९ हजार ४६४ रहेको छ ।

 यस्तै महिलाको भने मासिक औसत आम्दानी रु १३ हजार ६३० रहेको छ । सो तथ्याङ्क अनुसार नेपाली महिलाले पुरुषको तुलनामा रु पाँच हजार ८३४ अर्थात ३० प्रतिशत कम ज्याला पाउने गरेका छन् । 

संविधानले महिला र पुरुष बराबर ठानेपनि व्यवहारमा भने त्यस्तो नदेखिएको विभागको उक्त अध्ययनले देखाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ मध्ये पुरुष एक करोड २८ लाख ४९ हजार ४१ र महिला एक करोड ३६ लाख ४५ हजार ४६३ रहेका छन् । जनसङ्ख्यामा पनि महिला नै बढी भए पनि रोजगारी र तलबको क्षेत्रमा भने पुरुषको प्रभुत्व रहेको उक्त विवरणले स्पष्ट पारेको छ । 

प्रामाणिक औद्योगिक वर्गीकरणअनुसार रोजगारीको वितरण प्रमुख पाँच क्षेत्रमा समेटिएको छ । सबैभन्दा बढी व्यक्ति कृषि, वन र माछापालन, थोक तथा खुद्रा बिक्री, मोटरगाडी तथा मोटरसाइकलको मर्मत सम्भार, उद्योग, निर्माण र शिक्षामा रोजगारी केन्द्रित रहेको छ । 

 विशेषगरी कृषि क्षेत्रमा महिलाको उपस्थिति बढिरहेको समेत उक्त विवरणमा समावेश छ । यस्तै श्रमको अल्पउपयोगमा समेत पुरुषको तुलनामा महिलाको मात्रा नै बढी रहेको छ । कूल ३२ प्रतिशत पुरुष श्रमको अल्पउपयोगमा रहँदा महिलाको भने ४८ दशमलव ८ प्रतिशत रहेको छ । 

प्रतिवेदनअनुसार नेपालको बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेको छ । त्यसमा पनि पुरुषको तुलनामा महिलामा बेरोजगारीको दर बढी छ । पुरुष र महिलाको बेरोजगारी दर क्रमशः १० दशमलव ३ र १३ दशमलव १ प्रतिशत छ । 

यसैगरी क्षेत्रगत रुपमा हेर्दा शहरमा नै बेरोजगारीको मात्रा बढी रहेको छ । शहरी क्षेत्रमा  ११ दशमलव ६ प्रतिशत र ग्रामीण क्षेत्रमा १० दशमलव ९ प्रतिशत बेरोजगार रहेका छन् । मुख्य काम गर्ने समय एक साताको औसत ४४ घण्टामध्ये पुरुषको ४८ घण्टा र महिलाको ३९ घण्टा रहेको छ । अर्थतन्त्रलाई आधार मानेर औपचारिक र अनौपचारिक क्षेत्रमा विभाजन गर्दा ३७ दशमलव ८ प्रतिशत क्रियाकलाप औपचारिक र ६२ दशमलव २ प्रतिशत अनौपचारिक क्षेत्रमा रहेको पाइएको छ । 

प्रतिवेदन अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेर समूहका दुई करोड सात लाख ४४ हजारमध्ये ७० लाख ८६ हजार जनसङ्ख्या कुनै न कुनै रोजगारीका क्षेत्रमा रहेको पाइएको छ । त्यसमा ४४ लाख ४६ हजार पुरुष रोजगारीमा रहँदा २६ लाख ४० हजार महिला मात्रै रोजगारीमा छन् । 

यसैगरी कम उच्च तहका प्रबन्धकमा कूल एक दशमलव दुई  प्रतिशत मात्रै रोजगारी प्राप्त हुने गरेको छ । त्यसमा पनि महिला र पुरुषको बीचमा ठूलो खाडल रहेको छ । कूल ८६ दशमलव ८ प्रतिशत पुरुष प्रबन्धक रहँदा मात्रै १३ दशमलव २ प्रतिशत महिला प्रबन्धकको तहमा रहेको पाइएको छ । 

छिमेकीमुलुक भारतमा उच्च व्यवस्थापनमा एक महिला अनिवार्य गरिएको भए पनि त्यस्तो प्रावधान नेपालमा भने लागू हुनसकेको छैन । संविधानले हरेक निकायलाई ३३ प्रतिशत महिला अनिवार्य गरेको भए पनि नेपालमा हालसम्म सोही संवैधानिक व्यवस्था समेत कार्यान्वयन हुन सकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!