मिस्त्रीखोलाको सुरुङ निर्माण

Posted on: 12 May, 2019

वैशाख २९, म्याग्दी | अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालिले निर्माणाधीन ४२ मेगावाट क्षमताको आयोजनाका लागि दुई हजार २७० मिटर लामो सुरुङ निर्माण गरेको हो । सन् २०१६ को जुन १३ मा सो  सुरुङको काम शुरु गरिएको  थियो । नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थ प्रयोग गरेर बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार ३४४ दशमलव पाँच मिटर सुरुङ निर्माण गरिएको आयोजनाका इञ्जिनीयर दिवाकर खड्काले जानकारी दिनुभयो । 

उक्त आयोजनाको बाँध, विद्युत्गृह र पेनस्टक पाइप जडान गर्ने काम ८० प्रतिशत सकिएको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण गरिएको र सो बाँधक लागि  पहाडभित्र १३५ मिटर सुरुङ खनी  पानीलाई ‘डाइभर्ट’ गराएर बाँध निर्माण गरिएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी (क्यानल) भूमिगत हो । पहाडभित्र ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर लम्बाइ दुई मिटर गोलाइको पेनस्टक पाइप जडानकार्य ८० प्रतिशत सकिएको छ । 

आयोजनाले नारच्याङबेँसीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीन बेलिब्रिज निर्माण गरेको छ । रु पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको सो आयोजना स्वदेशी लगानीमै निर्माण हुन लागेको हो । विद्युत् विकास विभागले २०६४ मा सो आयोजना निर्माणका लागि अनुमति दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सवस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको  बताइएको छ  । म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये यो सबैभन्दा ठूलो आयोजना हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!